नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन हो । कार्य तालिका अनुसार आज नयाँ नेतृत्व घोषणासँगै महाधिवेशन सकिने दिन हो । आम मानिसमा एमालेको यस कार्य तालिकाप्रति उत्साह र विश्वास थियो । एमालेमा अब कुनै वैचारिक विवाद नभएको, मतान्तर राख्दै आएका माधव नेपाललगायतका केही नेताहरूको पार्टी बहिर्गमनपछि एकमना एकताका साथ महाधिवेशन टुङ्गिन्छ भन्ने सबैको अपेक्षा रहेको थियो । तर, आम अपेक्षाअनुरूप विषय अघि बढेको देखिएन । बन्दशत्रको कार्यक्रम सुचारु हुन नसकेका समाचारहरू आइरहेका छन् ।
नेतृत्व निर्माण चानेचुने विषय होइन, तर यो विषय सैद्धान्तिक वैचारिक नभएर प्राविधिक विषय हो । १५—१७ असोज, २०७८ मा सम्पन्न विधान महाधिवेशनले व्यवस्था गरेको विधानमा समेत सामान्य संशोधन गरी नेतृत्व निर्माणलाई सजिलो पारिएको हो । पार्टीको विस्तार, यसप्रतिको बढ्दो आकर्षण, समावेशी सहभागिताको सवाल, कामका क्षेत्रको विविधता आदिलाई दृष्टिगत गरी केही आकार बढाउनका लागि विधान संशोधन भएको बुझिन्छ । तर, यसले पनि नयाँ नेतृत्व निर्माणमा सहजता ल्याउन सकेको देखिएन । यहाँ सङ्ख्या र सहभागिता भन्दा केही नेताहरूको निश्चित पदमा रहेको पदीय आकाङ्क्षा र त्यसका लागि कसिएको अड्डीले असहजता बढाएको छ ।
नेतृत्व निर्माणका सन्दर्भमा जबजको सैद्धान्तिक मान्यता प्रतिस्पर्धा हो । तर, यो विषय पार्टीभित्र नेतृत्वको आकाङ्क्षा पूरा गर्ने मात्र विषय होइन । यो नेकपा(एमाले)को मार्गदर्शक सिद्धान्त हो र यसले अन्य धेरै विषय समेटेको छ । जनताको बहुदलीय जनवाद अहिलेको नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रीय सिद्धान्त हो, अर्थात् नेपालको कम्युनिष्ट आन्दोलन यसैको वरिपरि छ । यस्तो विषयबारे एमालेका नेताहरूले चासो राख्नु, यसको उद्धरण र उल्लेख गर्नु सकारात्मक पक्ष हो ।
अन्य विषय जस्तै जनताको बहुदलीय जनवादमा रहेको प्रतिस्पर्धाद्वारा नेतृत्व निर्माणको विषय पनि निरपेक्ष र एक मात्र सूत्र होइन । सिद्धान्तले मार्गदर्शन गर्ने हो । मार्गदर्शन दीर्घकालीन र तत्कालीन दुवै अवस्थामा हुन्छ । यस अर्थमा विद्यमान वस्तुगत अवस्थाको व्यवस्थापनमा पनि यो मार्गदर्शक नै हुन्छ । यसरी हेर्दा अहिले नेकपा (एमाले)को केन्द्रीय नेतृत्व निर्माणको एक मात्र बाटो र विकल्प निर्वाचन मात्र हो भन्ने देखिँदैन । प्रतिस्पर्धा र निर्वाचन भनेको कर्मकाण्ड पूरा गर्ने जड सूत्र विषय हुन सक्दैन ।
यद्यपि, नेकपा (एमाले)का कार्यकर्ताको विवेक माथि कुनै शङ्का छैन, तथापि निर्वाचनले ल्याउन सक्ने परिणाम पार्टीका लागि सुखद नहुन पनि सक्ने देखिन्छ । साबिक नेकपा (माओवादी) बाट एकीकरणको माध्यमबाट त्यस पार्टीका वरिष्ठ नेताहरू एमालेको नेतृत्वमा रहनुभएको छ र एकतालाई थप मजबुती दिन वहाँहरूलाई नेतृत्वमा स्थापित गर्न आवश्यक छ । अधिकांश प्रतिनिधि सङ्ख्या एमालेका पुराना—नयाँ पृष्ठभूमिबाट आएको छ । त्यस्ता प्रतिनिधिहरूको साबिक माओवादीका कमरेडहरूसँगको सम्बन्ध त्यति सुमधुर नहुन सक्दछ । यसले पनि चुनावमा नकारात्मक असर पार्न सक्दछ । त्यस्तै, प्रतिनिधि सभा विघटनका विरुद्धमा केपी शर्मा ओली नेतृत्वको विरुद्ध लागेका कमरेडहरू, जो दस बुँदे सहमतिका आधारमा एकताबद्ध हुनुहुन्छ, वहाँहरूप्रति पनि आम मनोविज्ञान त्यति सकारात्मक रहेको देखिँदैन । निर्वाचनको मत परिणामले वहाँहरूको व्यवस्थापनमा पनि समस्या देखा पर्न सक्दछ । यसको परिणाम एकताबद्ध एमालेका लागि सुखद रहने छैन । अनि, अन्य पार्टीबाट आउनेहरू र अन्तर्संघर्ष गर्नेहरूका लागि एमालेमा ठाउँ छैन भन्ने सन्देश जान सक्ने देखिन्छ ।
त्यसैले, जसरी पनि निर्वाचन नै हुनुपर्छ भन्ने अडानबाट पछि हटेर सहमति र एकताका साथ नेतृत्व चयन गर्नु नै आजको सन्दर्भमा पार्टीको, कम्युनिष्ट आन्दोलनको सर्वोपरि हितमा हुने देखिन्छ । पार्टीभित्रको जय—पराजयको कित्ताले स्थायी गुटबन्दी कायम हुन सक्दछ । यसले नजिकै आइरहेको स्थानीय निर्वाचनमा असर पार्न सक्नेछ ।
जबजको मार्गदर्शन प्रतिस्पर्धाको मार्गदर्शन हो, तर आन्तरिक नेतृत्व निर्माणको अनिवार्य सर्त होइन । प्रतिस्पर्धाका पक्ष, क्षेत्र र विषय धेरै छन् । नेपालका नेता—कार्यकर्ताहरूले कामका अन्य क्षेत्रमा प्रतिस्पर्धा र श्रेष्ठता हासिल गर्दै अगाडि बढ्नु पर्दछ । पार्टीभित्र आवश्यकता र परिस्थिति अनुसार सहमति र समझदारीमा अघि बढ्नु राम्रो हुनेछ ।
आन्तरिक होस् वा बाहिरी, चुनाव भनेको जित र हारमा टुङ्गिने विषय हो । जित्ने बलियो र हार्ने कमजोर मानिन्छ । तर, एउटै पार्टीभित्र विजयी र पराजित, शक्तिशाली र कमजोर पङ्क्ति खडा गर्नु नेता—कार्यकर्ता र पार्टी कसैका लागि हितकर हुने छैन । सहमति र समझदारीमा निर्माण गरिएको नेतृत्वले नै पार्टी विरुद्धको घेराबन्दी र चुनौतीहरूको सामना गर्न सक्नेछ । बाहिरी शक्तिसँग प्रतिस्पर्धा र विजयका लागि आन्तरिक सहमति आजको आवश्यकता हो ।
प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार ७ : २७ बजे
प्रतिक्रिया