अध्यक्ष ओलीको प्रस्तावः भीम, सुवास र विष्णु उपाध्यक्षमा बसिदिनुस्

काठमाडौं – १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाउनुभएका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदको दाबी गरिरहनु भएका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहनु भएका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहनु भएका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गर्नु भएको छ । 

बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका बीच ओली आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहनु भएको छ  । 

भेटका क्रममा उहाँले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहनु भएको छ  । तर अहिलेसम्म रावलसँग ओलीले संवाद गर्नुभएको छैन । ओलीलाई लाइनमा गएर नभेट्ने अडान राख्दै रावल भेट्न नजानुभएको हो । 

रावल निकट एक नेताका अनुसार ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले चुनावी प्रचार थालेका छन् । 

आफ्नै टिम मिलाउन सकस परिरहेका वेला ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिनुभएको छ । 

राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गरे पनि सो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । 

उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाबमा ओली हुनुहुन्छ । 

दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि सो समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताउनुभयो । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट गरे फर्किनु भएको छ ।

सहमति नभएसम्म बन्दसत्र हलमा नजाने अडानमा रहनुभएका ओलीका कारण कतिपय प्रतिनिधिमा भने अधिवेशन लम्बिने चिन्तामा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ४८ बजे