जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । आइतबार कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बिहान दुई बजे नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते भएका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा लगेको थियो । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १२ बजे