‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ओमिक्रोन भेरिअन्ट : यी देशबाट आउने यात्रुले नेपालमा बस्नुपर्छ क्वारन्टीन

बीबीसी । कोभिड १९ को अत्यधिक उत्परिवर्तन क्षमताको 'ओमिक्रोन भेरिअन्ट' फैलिनसक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिकी क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै भेरिअन्ट अफ कन्सर्न घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन्।

नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताउनुभयो।

हामीले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन पठाउँछौँ। पोजिटिभ आयो भने नमुनाहरूको सिक्वेन्सिङ पनि गर्छाैं उहाँले भन्नुभयो ।

नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन। विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट हालसम्म हङकङ, बेल्जियम र इजरेल सहितका देशहरूमा फैलिएको पाइएको छ।

हङकङसँग सिधा हवाई उडान रहेको नेपालले उडान स्थगित गर्ने वा नगर्नेबारे आइतवार बस्ने कोभिड सङ्कट व्यवस्थापन समन्वय समितिको बैठकबाट निर्णय गर्ने पौडेलको भनाइ छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : १० बजे