पाँच घण्टा ढिलो गरी एमालेको बन्द सत्र सुरू

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।

बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । पार्टी महासचिव ईश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको छ । बन्दसत्रमा विदेशी पाहुनाहरुले बोल्ने क्रम सुरु भएको छ । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो ।

 बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।   एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार सुरु भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : ०६ बजे