देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यकता छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि निरन्तर संवादको आवश्यक रहेको बताउनुभएको छ ।  

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताउनुभयो  ।  प्रधानमन्त्री  देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएकोसमेत बताउनुभयो ।

देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गर्नुभयो ।

‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुस्ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाको भनाई थियो ।

नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताउनुभयो ।

‘हाम्रा असहमतिहरुलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ । त्यसलाई हामी सबैले स्वीकार्नुपर्दछ’, देउवाको भनाइ थियो । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  २ : ५२ बजे