‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अहिले कम्युनिष्ट मुभमेन्टको विवादरहित नेता ओली जी नै हो : महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा हुनुहुन्छ । 

एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । महाधिवेशनको एक दिनअघि भरतपुर पुग्नुभएका लोसपाका अध्यक्ष ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायत विषयमा गरिएको कुराकानी : 

एमाले महाधिवेशनमा किन आउनुभयो?
​​​​​​​एउटा त शुभकामना दिन आएको हुँ । शुभकामना आदानप्रदान राजनीतिक संस्कार हो । पार्टीबीच आदान प्रदान हुन्छ । दोस्रो धन्यवाद पनि दिन आएँ ।

धन्यवाद किन?
किनभने हाम्रा जो माग थिए, मधेसका माग सम्बोधनमा एमालेले अग्रसरता लियो । अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले प्रयास गर्नुभयो । संविधान संशोधनको प्रयास, मधेसी नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता (१२ सयमा १४० जना मुक्त) र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रयास, नागरिक ऐन ल्याएको (यद्यपि अदालतले रोकिदियो) र इतिहासमै पहिलो पटक मन्त्रिमण्डलमा ५० प्रतिशतभन्दा बढी मधेसी सहभागिता (त्यो पनि अदालतले रुचाएन) गराएकाले एमालेलाई धन्यवाद पनि दिनेछु । ओलीजीले प्रयास गर्नुभयो, केही सफलता पनि भयो । तर, जुन मुख्य मुद्दा थियो गर्न सम्बोधन गर्न नपाउँदै उहाँ जानुभयो ।

एमालेको महाधिवेशनमा शुभकामना दिँदै गर्दा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?
एमाले अहिले पनि लार्जेस्ट पार्टी हो । सत्ता उसकै हातमा थियो । दुई तिहाइको थियो । विभिन्न कारणले टुटफुट भयो । सत्ता गयो । अदालतको पनि कृपा रहेन । त्यसकारण हामी चाहन्छौँ कि यो महाधिवेशनबाट एमाले अझै मजबुत भएर आओस् भन्ने हाम्रो शुभकामना छ । ओलीजी दोहोरिए राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।

एमालेको आउने नेतृत्वले राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ ?
एमालेको नेतृत्व अहिले जसको हातमा छ त्यो (केपी शर्मा ओली) कम्युनिष्ट मुभमेन्टको डिस्पुटेड लिडर अर्थात् विवादरहित नेता हो । प्रचण्ड जीको त्यो अवस्था छैन । एक समय थियो, उहाँ (प्रचण्ड) को तुलना गौतम बुद्ध र पृथ्वीनारायण शाहसँग गरिन्थ्यो । तर अहिले त्यो स्थिति छैन ।

माधव नेपालजी त साथी–साथी हो । भर्खर छुट्टिएर जानुभएको छ । उहाँ (माधव)आउनुहुन्छ कि आउनुहुन्न थाहा छैन । त्यसकारण अहिले कम्युनिष्ट मुभमेन्टको विवादरहित नेता ओलीजी नै हो ।

उहाँको भूमिका के हुन्छ राष्ट्रिय राजनीतिमा ?
राष्ट्रिय राजनीतिमा हामीले सङ्कल्प गरेका एजेण्डा अलपत्र छन् । ओलीजीले अगाडि बढाउन प्रयास गर्दा सफल भएन । अहिले राज्य नै अनिर्णयको बन्दी बनेको छ । प्रतिनिधिसभा पनि काम गरिरहेको छैन । सत्ता गठबन्धनमा विभिन्न मतले कार्यपालिका पनि चल्न सकेको छैन ।अदालतको हालत त अहिले देखिएको छ । कुनै पनि अङ्ग फङ्सनिङ अवस्थामा छैन । सहज अवस्था ल्याउन देशको पहिलो पार्टी बलियो हुनु आवश्यक छ । नेतृत्व पनि बलियो भयो भने भूमिका प्रभावकारी हुन्छ ।

एमालेको अब आउने नेतृत्वसँग साझेदारी, समन्वय र अब आउने चुनावमा गठबन्धनको सम्भावना छ ?
हाम्रो माग मुद्दा अझै सम्बोधन भएको छैन । हाम्रो प्राथमिकता सम्बोधन गरे हुनसक्छ । माग, मुद्दाका आधारमा त्यतिखेरै निर्धारण हुन्छ ।

अन्तिममा एमाले महाधिवेशनमा के शुभकामना दिन चाहनुहुन्छ ?
हाम्रो शुभकामना छ कि यो महाधिवेशनबाट तपाईँको उचाइ बढोस् । आकाशभन्दा उच्चो होस् । मजबुत भएर आउनुस् । देवताले समुद्र मन्थन गरेका थिए, तपाईँहरू जनमन्थन गरेर आउनुभएको छ, नवरत्न बन्नुस् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ११ बजे