खानीको टेण्डर ननिकाल्न महानिर्देशक घिमिरेको चलखेल !

​​​​​​​काठमाडौं । खानी तथा भूगर्भ विभागले गत वैशाखमा खुलाएको विभिन्न खानीहरुको टेण्डर महानिर्देशक रामप्रसाद घिमिरेको ढिलासुस्ती र चलखेलका कारण अहिलेसम्म स्वीकृत भएको सूचना जारी हुन सकेको छैन ।

 
विभागको स्रोत अनुसार महानिर्देशक घिमिरेले ढिलासुस्ती गरेकै कारण दुई महिनादेखि टेण्डर अवार्ड भएको सूचना जारी हुन नसकेको हो । स्रोतका अनुसार उच्च तहका केही व्यक्तिले सूचना ननिकाल्न दबाब दिएको बताईएको छ । विभागको टेण्डर मुल्यांकन समितिले गत भदौमा कम्पनीहरुको प्राविधिक प्रस्ताव र असोज २२ गते आर्थिक प्रस्ताव खोलेको थियो ।

 
प्राविधिक प्रस्तावमा पास भएका केही कम्पनीहरुको आर्थिक प्रस्ताव गत असोज २२ गते खोलिएको थियो । विभागका उपमहानिर्देशक जयराज घिमिरेको संयोजकत्वमा गठित मुल्यांकन समितिले टेण्डरको प्राविधिक र आर्थिक प्रस्ताव सम्पन्न भईसकेर प्रतिवेदन पेश गरिसकेको झण्डै डेढ महिना पुग्न लागेको छ ।

महानिर्देशक घिमिरेले उक्त टेण्डर सम्बन्धी प्रतिवेदन अहिलेसम्म आफ्नै टेबलमा राखेर थन्काएका छन् । विभागको स्रोत अनुसार महानिर्देशक घिमिरेले आर्थिक चलखेल गर्नका लागि टेण्डर अवार्डको सूचना प्रकाशित नगरेर आलटाल गरिरहेका छन् । ‘हामीले पनि डिजी साबको भित्री मनसाय के हो बुझ्न सकेका छैनौं’, स्रोतले भन्यो, ‘टेण्डर सम्बन्धी सबै प्रक्रिया सम्पन्न भईसक्दा पनि अवार्ड हुन नसक्नु दुःख लाग्दो कुरा हो । यसरी सूचना निकाल्न आलटाल गरिनुको पछाडि पक्कै पनि केही स्वार्थ होला ।’

 

 
खानी तथा भूगर्भ विभागले गत बैशाख २ गते गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा नेपालका विभिन्न ठाउँहरुमा चुनढुंगा, मार्बल, बालुवा, तामा र काउलिन जस्ता खनिज पदार्थहरुको खोजतलास अध्ययन र उत्खनन् सम्बन्धी टेण्डर प्रकाशित गरेको थियो । उक्त समयमा कोभिड–१९ को प्रकोप बढिरहेको बेला विभागले टेण्डरको म्याद थप गरी अन्तिम पटक असार २७ गते प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने समय जारी ग-यो ।

 
नाम उल्लेख गर्न नचाहने शर्तमा टेण्डरमा सहभागी एक कम्पनीका अनुसार महानिर्देशक घिमिरेले पैसाको लागि कुनै बार्गेनिङ गर्न खोजिरहेका छन् कि भन्ने शंका लागेको बतायो । उक्त कम्पनीले भन्यो, ‘यो विषयमा हामीले अख्तियार, उद्योग मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिईसकेका छौं । सरकारको ध्यानाकर्षण गराईसकेका छौं ।’

 
टेण्डरको विषयमा फोन सम्पर्क गरेर बुझ्दा महानिर्देशक घिमिरेले आफूले प्राविधिक र आर्थिक प्रस्तावको विषयमा अझै अध्ययन गरिरहेको जवाफ दिएर पन्छिन खोजे ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ६ : ०२ बजे