कपिलवस्तुको साझा सन्देश : सर्वसम्मत एमाले केन्द्रीय समिति

कपिलवस्तु । चितवनमा हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गर्न एमाले कपिलवस्तुले साझा सन्देश दिएको छ । एकता महाधिवेशन भएको कारणले पार्टीलाई बलियो बनाउन सर्वसहमतिमा जोड दिनु पर्ने केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले बताउनुभयो । तर, पार्टीले मूल्याङ्कन गर्दै पुनः  दोहोर्याउन चाहेमा आफू उम्मेदवार हुने स्पष्ट पार्नुभयो । 

यसैगरी राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका केन्द्रीय सदस्य विमला घिमिरेले एकताको महाधिवेशन भएकोले सहमतिमा उम्मेदवारी बन्ने धारणा व्यक्त गर्नुभयो । नेतृत्वले सहमतिमा टुङ्गाउनेमा विश्वस्त रहेको समेत उहाँको भनाइ छ । महाधिवेशनका लागि कपिलवस्तुबाट १५ हजार कार्यकर्ता लैजाने तयारी गरिएको छ । जिल्लाबाट दुई सयभन्दा बढी बस र ५० साना सवारीसाधन प्रयोग हुने जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताउनुभयो  । 

केन्द्रीय समितिमा आठ जनाको दावेदारी
एमाले केन्द्रीय समितिमा कपिलवस्तुका आठ नेताले दाबी प्रस्तुत गर्नुभएको छ । जिल्ला प्रचार विभागको बैठकमा तीन जना वर्तमान केन्द्रीय सदस्यले दोहोरिन इच्छुक देखाउनुभएको छ ।   

कपिलवस्तुबाट गिरीधारीलाल न्यौपाने, विमला घिमिरे र सिराज अहमद फारुकी हाल केन्द्रीय समितिमा हुनुहुन्छ । न्यौपानेले नेकपा विभाजन भएपछि माओवादी केन्द्र छाडी एमाले रोज्नुभएको थियो  । उहाँ लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत हुनुहुन्छ । 

यसैगरी एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी, कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम प्रसाद थारु, युवा नेता विष्णु पन्थी र प्रदेश सचिवालय सदस्य डम्मर शर्मासमेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ  । 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : ११ बजे