राष्ट्र बैङ्कले १४ दिन अवधिको २० अर्बको रिपो जारी गर्दै 

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ ।

बैङ्कले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैङ्कले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । 

बैङ्कले यसअघि, गत कात्तिक २५ मा रु २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैङ्क तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैङ्कले जनाएको छ ।

प्रणालीमा देखिएको तरलता अभावले बैङ्क तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ । केन्द्रीय बैङ्कको पछिल्लो विवरणअनुसार औसत कर्जा निक्षेप अनुपात ९० दशमलव ३१ प्रतिशत  पुगेको छ । 

राष्ट्र बैङ्कले गरेको बैङ्कको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्थाअनुरूप यसको व्यवस्थापनमा बैङ्कहरूलाई कठिन परेको छ । सार्वजनिक विवरणअनुसार हालको अवस्थामा बैङ्कले कर्जा दिनसमेत नसक्ने अवस्था देखिएको छ ।

हाल तरलता व्यवस्थापनमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैङ्कका अनुसार अन्तर बैङ्क सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ । 

त्यस्तै,  चालु आवमा बुधवारसम्म बैङ्क तथा वित्तीय संस्थाले रु १७ खर्ब ५९ अर्ब ९२ करोड ८५ लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुन सकेको छैन । रासस

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ११ : ४७ बजे