लकडाउनमा पनि लागूऔषध ओसारपसार : चार पक्राउ

महेन्द्रनगर – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार  युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यसअघि खैरो हिरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले यहाँको दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हिरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताउनुभयो । उहाँले अभियुक्तहरुको साथबाट १४.६९ ग्राम खैरो हिरोइनसमेत बरामद गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका अभियुक्तहरुलाई मुद्दा चलाएर कारबाही अघि बढाइने बताउनुभयो । “लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए”, उहाँले भन्नुभयो, “तर प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ ।”
 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ४१ बजे