राष्ट्रिय राजनीति एमाले र अध्यक्ष ओलीको वरिपरि घुमेको छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले पनि एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान परिवेशमा सुचना प्रविधि र सामाजिक सञ्जालको महत्व विषयक विचार गोष्ठी तथा साइवर सर्कल घोषणा कार्यक्रममा बोल्नुहुँदै ज्ञवालीले एमाले सत्ता शक्तिमा नभएपनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको जिकिर गर्नुभयो ।

“राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन्,” उहाँ थप्नुहुन्छ, “देश, विदेशले अहिले बालुवाटार सानेपा, खुमलटार खोज्दैन अहिले बालकोट र थापाथलीले के भन्यो भनेर सोध्ने गरेको छ।”

उहँले विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जाको अभ्यास एमालेले नै असफल पारेको स्पष्ट पार्नुभयो ।

विस्तृत शान्ति सम्झौतापछि देशमा संविधान निर्माण, द्वन्दकालिन मुद्दाहरुको निरुपण लगायतका कामहरुलाई प्राथमिकता दिनुपर्ने बेला प्रचण्डले सत्ताकब्जाको अभ्यास स्वरुप सेनामाथि जाइलागेको उहाँको दाबी छ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : २४ बजे