साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एमाले महाधिवेशन र जनअपेक्षा

अहिले देश एमालेमय भएको हो कि भन्ने देखिएको छ। आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको लागी वडा देखि नगर जिल्ला अधिवेशन धमाधम भैरहेका छन् करिब भैसकेका छन्। महाधिवेशन प्रतिनिधि छनौट को लागी तछाड मछाड भएको छ कतिपय ठाँउहरु मा सर्वसम्मत कतिपय ठाउँमा निर्वाचन समेत भएका छन्। छिटपुट विवाद नदेखिएका पनि होइनन् तर समाधान भैरहेका छन्। ठाउँ ठाउँमा जुलुस र्‍याली सभा सम्मेलन भैरहेका छन्। पार्टीको नेतृत्वमा आउन नेतृत्व आकाङ्क्षीहरूले उमेद्‌वारीको घोषणा गरी रहेका छन्। उता महाधिवेशन स्थल चितवनको नदी किनारा सिङरिदै छ । एउटा भव्य, सभ्य, आकर्षक र ऐतिहासिक अधिवेशन गर्न स्वयंसेवकहरू दिनरात खटेका छन् । देशकै करिब मध्य बिन्दुमा पर्ने चितवन जिल्ला राजनीति देखि सामाजिक र आर्थिक क्षेत्रका सबैको रोजाईको ठाउँ हो भने विदेशी पर्यटकहरूको आकर्षक स्थल पनि हो र यस जिल्लामा रहेको अयोध्यापुरी र देवघाटको आफ्नै धार्मिक महत्त्व रहेको छ। नव निर्मित महाधिवेशन स्थललाई समेत भौतिक पूर्वाधार निर्माण गरी नारायणी तटमा पर्यटकीय गन्तव्य बनाउने तयारी आयोजनको रहेको बुझिएको छ।निश्चित समयमा महाधिवेशन गर्नु एउटा राजनैतिक दलको कानुनी बाध्यता हो भने राज्य सञ्चालन गर्न सक्ने क्षमतावान नेतृत्वको पहिचान गर्ने माध्यम पनि हो। सही नेतृत्वको छनोटले उक्त दल प्रति जनविश्वास वढन गई राज्य सञ्चालनको अवसर प्राप्त गरी राष्ट्रकै भविष्य बदलिन सक्छ भने गलत नेतृत्व छनोटले देशलाई वरवादी तर्फ धकेल्न सक्छ र राजनैतिक दल एउटा इतिहासको पानामा सीमित हुन सक्छ। विगतमा हाम्रो देशमा रहेका राजनैतिक दलका नेतृत्वले देशको राजनैतिक व्यवस्था तथा विधि विधानको अमूल परिवर्तन त गर्‍यो तर जनताको जनजीविकामा खासै परिवर्तन भएको देखिएन। दश वर्षे सशस्त्र द्वन्दले ध्वस्त भएको देशको आर्थिक अवस्था सुधार उन्मुख भए पनि गति लिन सकेन ।

२०७२ सालमा संविधान सभाबाट निर्मित संविधान बमोजिम २०७४ सालमा भएको तिन तहको निर्वाचनले नेकपा एमाले लाई देशकै सबै भन्दा ठुलो राजनैतिक दल बनायो र त्यसका अध्यक्ष केपी वलि को नेतृत्वमा सरकार गठन गर्ने महत्त्वपूर्ण अवसर पायो र नेकपा माओवादी सँग पार्टी एकता गरी करिब दुई तिहाइ जनमत रहेको सरकार समेत बन्यो र प्रधानमन्त्री केपी बलिको भिजन र दृष्टिकोणले विकास निर्माणको काममा थोरै गति लिएको थियो तर पार्टी भित्रकै अन्य पदलोलुप कुण्ठाग्रस्त नेतृत्वले पार्टी भित्र बाट असहयोग र आरोप प्रत्यारोपले गर्दा अन्तः पार्टी एकीकरण टुट्न मात्र गएन पद र प्रतिष्ठाका लोभीहरूले आफ्नै दलको प्रधानमन्त्रीलाई देशी विदेशीहरूको ईसारामा संसद्‌मा विश्वासको मत नदिई विपक्षी दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्दै अदालत समेतको सेटिगमा आफ्नै सरकार गिराउन सफल भए र सरकार तथा सभामुखको आग्रह पूर्वाग्रह बाट एमालेलाई चोइटाएर नयाँ दल समेत गठन गरे जुन दल आज अस्तित्वको खोजीमा भौँतारी रहेको देखिन्छ।

अहिलेको एमाले महाधिवेशन सभा सम्मेलन र नेतृत्व चयन मा मात्र सीमित नभएर पार्टीलाई राष्ट्र निर्माण गर्न सक्ने योग्यता, क्षमता तथा भिजन भएको र आधुनिक प्रविधिमैत्री राजनैतिक दल हो भन्ने प्रमाणित गर्न खोजिरहेको देखिन्छ। देश निर्माणको मेरुदण्डको रूपमा रहेको युवा शक्तिको विश्वास र भरोसा भएको, ज्येष्ठ नागरिकहरूको आशाको केन्द्र र विकासका सपनाहरू बोकेको पार्टी हो भन्ने विश्वासलाई बलियो बनाउन खोजी रहेको देखिन्छ। त्यसै गरी जनमतको कदर गर्ने, लोकतन्त्रको पहरेदार तथा गणतन्त्रको संरक्षक राजनैतिक दलको रूपमा आफूलाई उभ्याउन खोजी रहेको छ। कार्यकर्ताहरूको अदम्य उत्साह, जोस, जाँगर, समर्पण र अनुशासन वाट नै एउटा पार्टीलाई उचाइमा पुर्‍याउन सकिन्छ भन्ने उसको मान्यता देखिन्छ।करिब दुई हजारको तिन सयको हाराहारीमा पार्टी सदस्यहरूको प्रतिनिधित्व हुने महाधिवेशनमा विश्वका करिब ६० देशका अतिथि प्रतिनिधि उपस्थित हुने सम्भावना रहेको छ भने उद्घाटन सत्र मा करिब पाँच लाख कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी हुने आयोजकको पूर्वानुमान रहेको छ।

एमालेको यस महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा थप ऊर्जा दिनेछ भने चोइटिएर गएका पूर्व एमालेजन हरुलाई निराशाजनक सन्देश प्रवाह गर्नेछ। त्यसै गरी आगामी चुनाव को लागी पार्टी भित्र रक्त सञ्चार बढाउने छ र जनतामा पुनः एक पटक एमालेका देश निर्माणका मुर्छित सपनाहरूलाई मूर्त रूप दिन जनमतको याचना गर्दै विश्वास दिलाउन प्रयास गर्ने छ। त्यति मात्र होइन देशमा रहेका अन्य दलहरूलाई समेत विधि पद्धति, आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धा, अनुशासन तथा निर्धारित समयमा सक्षम नेतृत्व चयन गर्न सक्ने क्षमताको राम्रो पाठ पढाएर समापन हुनेछ।

एमालेले अहिले गर्न लागेको दशौँ महाधिवेशनमा करिब साढे सात करोड खर्च हुने अनुमान गरिएको छ। जसको लागी कहीँ कतै चन्दा सहयोग न उठाई करिब साढे आठ लाखको हाराहारीमा रहेका आफ्नै पार्टी सदस्य बाट एक सयका दरले सहयोग सङ्कलन गर्न आह्वान गरेको छ जसबाट महाधिवेशन खर्चको जोहो हुने देखिन्छ। सहयोगको लागी आह्वान गरेको केही दिन मै लाखौँ सङ्कलन भैसकेको र सयको ठाउँमा पाँच सय हजार जम्मा गर्ने धेरै रहेको र यो क्रम निरन्तर जारी रहेको अधिवेशन आयोजकले जानकारी गराएका छन्। यस महाधिवेशनको कारण नारायणघाट बजार तथा सौराहा आसपास क्षेत्रको व्यापार व्यवसाय चलायमान हुने र कोरोनाले सुस्ताएको पर्यटक व्यवसायमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ। साथै उद्‌घाटन सत्रमा तयार गरिएको संरचनाले उक्त स्थानलाई मेला, महोत्सव जस्ता विभिन्न कार्यक्रमहरूमा प्रयोग गर्न सकिने हुँदा आन्तरिक पर्यटकको प्रवर्धनमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ।

प्रथम विधान महाधिवेशन यस अगाडी नै सम्पन भई सकेकोले यस दसौँ महाधिवेशन मुख्यतः नेतृत्व चयनमै केन्द्रित हुने छ भने वर्तमान पार्टी अध्यक्ष केपी वलीको उत्तराधिकारी खोजी हुनेछ। युवा पुस्तामा अत्यन्तै लोकप्रिय रहेका वर्तमान अध्यक्षले पुराना अनुभवी नेताहरूलाई सम्मान गर्दै युवाहरूलाई महत्त्वपूर्ण जिम्मेवारीमा प्रोत्साहन गर्ने छन् भन्ने जनअपेक्षा गरिएको छ। अन्तमा आसन्न नेकपा एमालेको महाधिवेशनले योग्य सक्षम तथा देश निर्माण गर्न सक्ने स्पष्ट दृष्टिकोण भएका जनताको विश्वास योग्य नेतृत्व चयन गरोस् र आगामी निर्वाचनमा एउटा सुदृढ राजनैतिक शक्तिको रूपमा अगाडी आई ‘संवृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार होस् भन्दै महाधिवेशन सफलताको कामना गर्दछु।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ०० बजे