एमाले महाधिवेशन : र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी

चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्‍याली गरिएको छ । 

युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । 

एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो । युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताउनुभयो । भरतपुरसँग जिल्लाका अन्य पालिकाहरुमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको केसीको भनाइ छ । 

नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ०९ बजे