‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिनुहुँदै

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत लिदै हुनुहुन्छ ।  
नयाँ बानेश्वरस्थित संघीय संसदमा आज दिउँसो १ बजे संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मत लिनुहुने कार्यक्रम छ । संघीय संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतदान सम्बन्धी सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको छ। संसद सचिवालयको कार्यसूची अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्न लेखेको पत्र पढेर सुनाउने तथा सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनय गर्ने कार्यक्रम छ।

नेकपा एमालेले आज हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत लिनुहुने हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै सदस्यलाई सूचित गराएको छ ।

यता माधवकुमार नेपाल समुहले भने पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनीहरुको चेतावनी छ । प्रधानमन्त्री ओलीले सोमबार विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे तत्काल बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने खनाल—नेपाल समूहले चेतावनी दिएका छन् । नेपाल समूहको आइतबार बसेको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई आज विहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।

वरिष्ठ नेता नेपालले पठाएको पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनु गल्ती भएको औंल्याइएको छ ।

ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गरेका छन् । विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ । उनीहरुले आफना माग आज विहान ९ बजेसम्म पुरा नभए सांसद पदबाट राजीनामा दिन बाध्य हुने बताएका छन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । प्रधानमन्त्रीलाई विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३९ बजे