महेश बस्नेतको सचिवमा उम्मेदवारी, भीम रावललाई ‘ब्याक’ हुन सुझाव

काठमाडौं – नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आफूले पार्टीमा खेलेको भूमिकाको कारण देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी बनाउने उहाँको विश्वास छ ।

नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने पनि दाबी गर्नुभयो । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताउनुभयो । उहाँले भन्नुभयो , ‘जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भूभाग मानवसागरले भरिन्छ ।’

भारतले नरेन्द्र मोदीलाई र चीनले सी चिनफिङलाई अघि बढाएको भन्दै उहाँले यो महाधिवेशनबाट ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसाबले अगाडि बढाउन चाहेको बताउनुभयो ।

यसअघि रिपोर्टर्स क्लबमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई नेता बस्नेतले उम्मेदवारी फिर्ता गर्न पनि सुझाव दिनुभएको छ  । उहाँले भन्नुभयो , ‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि जित्ने कुनै सम्भावना छैन । तर, पराजित भए पनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ ।'

तर रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश नगएको उहाँको भनाइ छ । रावलले उम्मेदवारी फिर्ता गरेर जानुपर्ने उहाँले जोड दिनुभयो । 'चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ । विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ,’ बस्नेतले भन्नुभयो , 'कम्युनिस्ट आन्दोलनलाई थप क्षति नहोस् भनेर रावलले उम्मेदवारी फिर्ता लिँदा नै राम्रो हुन्छ ।'

भीम रावलले उम्मेद्धघवारी फिर्ता लिनुभएन भने के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको जनाउनुभयो । यसको लागि नेताहरुबीच र दाबेदारी गरेका नेताहरुबीच अनौपचारिक छलफल तथा बैठक भैरहेको उहाँको भनाइ छ ।

'सर्वसम्मत् भएन भने मैत्रीपूर्ण ढंगले निर्वाचनमा जान्छौं । अब भीम रावल कमरेडले उम्मेदवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो । यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ३२ बजे