ड्युटी सकियो भन्दै पाइलटले बीचैमा जहाज अवतरण गराएपछि मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल एयरलाइन्सका पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरेपछि मन्त्रालयले  स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताउनुभयो । ‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के करणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ’, मन्त्री आलेले भन्नुभयो, ‘मैले नेपाल वायुसेवा निगमलाई माथि उठाँउन धेरै काम गरेको छु । तर मलाई नै असहयोग भइरहेको छ । म असयोग भयो भनेर चुप बस्नु मान्छे हैन् । मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’ उहाँले भन्नुभयो ।

पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको थियो । यो घटना गत सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भन्नुभयो, “हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।”

जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्‍याइएन । पाइलट शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराउनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : १० बजे