एमाले १० औँ महाधिवेशन : सौराहाका होटलका सबै कोठा ‘बुकिङ’

चितवन । नेकपा (एमाले)को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा  ‘बुकिङ’ गरिएका छन् । 

यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई  आवासका लागि  कोठा बुकिङ गरिएका हुन् । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ  । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग पार्टीले सम्झौता गरेको छ  ।
 
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पुर्याउन मुस्किल परेको छ । यतिबेला पहिले नै पर्यटकको बुकिङ गरेका र महाधिवेशन घोषणासँगै एमालेका प्रतिनिधि बाहेकका नेता कार्यकर्ताले समेत बुकिङ गरेकाले कोठा पूरै भरिएको उहाँको भनाइ छ ।
 
उहाँले भन्नुभयो, “कोठा पुर्याउन नसक्दा फोन उठाउनसमेत सकेको छैन ।” कोठाको व्यवस्थापनमा जुट्नुभएका एमाले नेता सांसद कृष्णभक्त पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पुर्याउन कठिन भएको छ । स्वयंसेवकका लागि भरतपुरमा समेत कोठा खोज्ने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशैभरबाट नेता कार्यकर्ताको कोठाको लागि टेलिफोन आएको छ, व्यवस्थापन गर्न कठिन छ ।”
 
व्यवसायीले  सौराहामा ६ हजार ५०० बेड रहेको बताउँदै आएको भए पनि सबै राम्रा कोठा छैनन् । सङ्घले पार्टीसँग सम्झौताका क्रममा सबै खालका कोठा दिनेगरी सम्झौता गरेको छ । महाधिवेशनमा प्रतिनिधि र आमन्त्रित बाहेक त्योभन्दा बढी सङ्ख्यामा देशभरबाट नेता कार्यकर्ता आउने तयारीमा छन् । यसका अतिरिक्त सञ्चारमाध्यमले समाचार सङ्कलनका लागि प्रतिनिधि पठाएका छन् ।
 
महाधिवेशन प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमाल बढी सङ्ख्यामा सञ्चारगृह र पत्रकारबाट होटलका लागि फोन आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान सबेरैदेखि राति अबेरसम्म फोन आउने गरेको छ । कोठा व्यवस्थापन गर्न कठिन छ ।”
 
क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरेले कोठाका लागि निरन्तर फोन आउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा एउटा कोठा त दिनुहोस् भन्ने धेरै फोन आउने गरेको छ ।” कोठा नभएपछि व्यवस्थापन कठिन भएको उहाँको भनाइ छ । सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको उहाँको भनाइ छ ।

सौराहामा रहेका भनिएका बेडमध्ये ठूलो सङ्ख्याका एक बेडमा दुई जना सुत्नुपर्ने हुन्छ । पछिल्लो समय एउटै बेडमा दुई जना सुत्न अप्ठ्यारो मान्ने हुँदा महाधिवेशनको समयमा पार्टीलाई कोठा व्यवस्थापन गर्न समस्या आउन सक्ने व्यवसायी बताउँछन् ।
 
सौराहामा कोठा भरिएपछि भरतपुर, रत्ननगर र गैँडाकोका होटल पनि भरिन थालेका छन् । अधिकांश होटलमा महाधिवेशनको उद्घाटनको अघिल्लो दिनबाट १२ गतेसम्म कोठा बुकिङ भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : ११ बजे