१. नेकपा (एमाले) ले आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशन अबको पाँचौँ दिनमा आरम्भ हुँदैछ । २०७८ मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनको नारायणी नदिको किनारमा हुने यो महाधिवेशन संगठित बिचार र यसको आलोकमा अघि बढेको नेपाली क्रान्तिका उपलब्धीहरूलाई संस्थागत गर्ने अभियानका हिसावले नेपाली कम्युनिष्ट आन्दोलनको महाधिवेशन हो । नेपाली समाजको जागरण, परिवर्तन, रूपान्तरण र यसको व्यवस्थापनको अविश्रान्त अभियानमा जुट्ने सबैका लागि कुम्भ मेला हो । संवैधानिक र यसको वैधानिक व्यवस्थाअनुरूप प्रत्येक ५ वर्षमा आयोजित हुनुपर्ने यो कम्युनिष्ट आन्दोलनको अनुमोदनको मेला पार्टी एकता नाउँको अलमल र कोरोना नाउँको महामारीका कारण यसपटक ढिलो गरी भएको छ । झण्डै ८ वर्ष लाग्नलाग्न खोजेको बेला आयोजित भइरहेको छ । यो महाधिवेशन आफैमा नेकपा (एमाले) को पार्टी संगठनात्मक जीवनको वैज्ञानिक व्यवस्थापनको ऐतिहासिक एकताको महाधिवेशन हो ।
२.नेपाली कम्युनिष्ट आन्दोलन, यसभित्रका मौलाउन नसकेका सस्याना अवयवहरू र परिवर्तनका पक्षधर आम राजनीतिक शक्तिहरूका लागि प्रेरणा जगाउने प्रथम विधान महाधिवेशनमार्फत राजनीतिक बैचारिक हिसावले एउटा मानक स्थापित गरेर अघि बढेको नेकपा (एमाले) को संगठनात्मक जीवनमा अब नेता को हुने ? नेतृत्व कस्तो आउने ? कसलाई ल्याउने ? भन्ने प्रश्न मात्र होइन, अब राष्ट्रिय राजनीतिलाई कसरी डोहो¥याउने ? अतिक्रमित संविधानलाई कसरी बचाउने ? संविधानलाई यसको मर्मअनुरूप कसरी अक्षरशः कार्यान्वयनमा ल्याउने ? सुशासनको प्रत्याभूति सहित पूर्वाधार विकास र भौतिक निर्माणको क्षेत्रमा एमालेलाई कसरी प्रतिस्थापन गर्ने भन्ने अर्थमा यो महाधिवेनले निकै ठूलो महत्त्व राख्दछ । यसका लागि चुनौतिका पक्षहरूलाई चिन्न सक्नुपर्छ । चिनिएको चुनौतिका पक्षलाई शल्यक्रियास्वरुप चिरफाड र कम्युनिष्ट आन्दोलनको जीवन्त बिम्ब विकासका लागि कुशल व्यवस्थापनमा एमाले राष्ट्रिय राजनीतिको म्यान अफ द मैच बन्न सक्नुपर्छ र हामी कार्यकर्ता यसका च्याम्पियन खेलाडी । यहाँबाट राष्ट्रिय राजनीतिलाई सामना गर्ने सम्पूर्ण सामर्थ सहित शक्ति तयार हुनेछ ।
३.विधान महाधिवेशनमै हामीले दक्षिणपन्थी अवसरवाद र पार्टी संगठनात्मक अराजकतालाई निस्तेज गर्ने र समयक्रममा क्रमशः परास्त गर्ने विषयलाई नीतिगत रूपमा पास गरेका छौँ । अर्थात् महाधिवेशनका मुखमा बिचार र बिचारका विविधताका नाउँमा हुने कुण्डकुण्ड चलखेल, व्यक्ति विशेष शक्तिआर्जन र बहुकेन्द्रमुखी अखडा निर्माण गर्ने अभ्यासलाई गम्भीर घृणासहित बहिस्कार गरेका छौँ भने नेपाली क्रान्तिको विकसित र प्रयोगसिद्ध सिद्धान्त– जनताको बहुदलीय जनवादको प्रकाशमा नेपाली समाज सुहाउँदो समाजवादको आधारशीला निर्माण गर्ने उद्घोष गरेका छौँ, यसमा संकल्पकृत भएका छौँ । अब हामी यो जिम्मेवारीबाट इञ्च भर पनि तलमाथि हुन सक्दैनौँ, पर्न सक्दैनौँ । यहिँनेर हामीले आफूलाई सिंगो समाजको अग्रगतिका लागि जोड्नुपर्छ र परिवर्तनको अपेक्षाभित्र असरल्ल मुद्दाहरूको व्यवस्थापनको क्षेत्रमा योग्यतापूर्वक उभ्याउन सक्नुपर्छ । नेतृत्वमा रहेकै बेला दरबारको हाकाहाकी पक्षपोषण गर्ने केशरजंग रायमाझी दक्षिणपन्थी अवसरवादका उदाहरण थिए, पछिल्लोपटक यहिँ पात्र विशेष प्रवृत्ति देखिएको छ । यसलाई समाजले पढ्नुपर्ने छ । हामीले यसलाई पढाउने छौँ । नेपाली राजनीति यहिँबाट जेलिएको थियो, त्यो गाँठो फुकाउन महाधिवेशन एक ठाउँमा एक मतका साथ उभिने छ ।
४.राजनीतिक बजारमा, चिया पसलदेखि सार्वजनिक स्थलहरूमा र सामाजिक सञ्जालका पानाहरूमा महाधिवेशनले गर्ने नेतृत्व चयन, पुस्तान्तरण र व्यवस्थापनका विषयमा तरेली–तरेली कुराहरू आइरहेका छन् । यो विषय आफैमा निकै महत्त्वपूर्ण र गम्भीर छ । नेतृत्वको कार्यकारी पद, हैसियत र भूमिका नपाउँदा पार्टी चोइटिएको तितो सत्यलाई यसबेला उत्तिकै गम्भीरताका साथ स्मरण गर्न जरूरी छ । तथापि, राजनीतिक जीवनको निर्माणको प्रश्न भनेको यसले तय गर्ने यसको राजनीतिक बैचारिक प्रश्नको जवाफ, निरुपण र व्यवस्थापन पहिलो शर्त हो । हामीकहाँ दुइटा प्रवृत्तिहरू हुर्किएका छन्– १० बिचारको पक्षलाई आफू अनुकूल व्यवस्था र व्यवस्थापन गर्न खोज्ने । अर्थात् जनताको बहुदलीय जनवादसँग कहिले असाध्यै गहिरो प्रेम भएझैँ नजिकिने र कहिले यसको औचित्यमाथि नै धावा बोल्दै तोजोवध गर्न पनि नहिच्किचाउने प्रवृत्ति र अर्को २० जनताको बहुदलीय जनवादको राजनीतिक बैचारिक क्षितिजभित्र यसको असल, सफल र रणकौशल उत्तराधिकारी शक्तिको रूपमा विकसित नेतृत्वमाथि अनाहकमा खनिने, फरकफरक रुचि–अभिरुचि भएका राजनीतिक शक्ति र तिनका नेतृत्वसँग अप्राकृतिक साँठगाँठ र गठबन्धन गर्ने प्रवृत्ति । यो दुइटै प्रवृत्ति र पात्रगत अभिव्यक्तिलाई टाउको उठाउन नदिन पनि अध्यक्षको नेतृत्वको निरन्तरता आवश्यक छ । उहाँको नेतृत्वले गर्नुपर्ने कार्यको सहज सम्पादनका लागि सहायक भूमिकामा अनुकूल पात्रहरू उभिन र आवश्यक परे नेतृत्वबाट ल्याइन सक्नुपर्छ ।
५.वडा–वडा अधिवेशनमा हामीले पायौँ– अध्यक्ष कमरेड केपी शर्मा ओली नेतृत्वको पार्टी र पार्टी–सरकारले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानमार्फत दिन खोजेको सन्देशलाई संगठित असंगठित सबैले राम्रोसँग बुझेका छन् । जनमतबाट सम्मानित तर अदालतबाट अपमानित नेकपा (एमाले) को राजनीतिक भूमिकालाई ग्रामीण जनजीवनले समेत बडो व्यग्रभावमा चासोपूर्वक एमालेलाई हेरेको छ । एमालेविरूद्धको शक्ति सञ्चयको प्रश्नले अब एमाले कमजोर पो हुने हो कि निकै ठूलो चासो र चिन्ताले घेरेको छ । गुटगत अभ्यास र फूटपरस्त मानसिकता तलैबाट शिथिल भएर आएको छ । बिचार र व्यवहार दुबै हिसावले सवल, सुदृढ र समृद्ध एमाले निर्माणको पक्षमा कुनै न कुनै जोड र कोणबाट प्रत्येक असंगठित मानिसले पनि योगदान गरेको छ । परिणामस्वरुप अपवादबाहेक अधिकांश कमिटी प्रणालीअन्तर्गत परस्पर संवाद र संवादपछि सहमति भएको छ । आनाकानी गर्ने कतिपय ठाउँका कतिपय जिम्मेवारहरूलाई लिएर हामी थुप्रै जिम्मेवारले गैरराजनीतिक परिस्थितिले सिर्जना गरेको असहज र विषम अवस्थामा एउटा क्रान्तिकारी पार्टी निर्माणको प्रश्न ठूलो कुरा हो, सहमतिका लागि तपाई स्वयंले त्याग गर्न सक्ने वातावरण बनाउनुहोस्, आफू केन्द्रीकृत सहमति नहुन पनि सक्छ भन्दै सघन रायपरामर्श आदानप्रदान गर्दा उहाँहरू मान्नुभएको छ । कतिपय ठाउँमा साथीले साथीलाई कन्भिन्स गर्नुभएको छ भने कतिपय ठाउँमा सहमतिको बाधक नहुने कबोल मात्र होइन, सोहीअनुरूप व्यवहार गरेर उदाहरणीय बन्नुभएको पनि छ । मातहतका कमिटी प्रणालीमा सहमतिका लागि उत्प्रेरणा जगाउने नेतृत्वले नैतिक जिम्मेवारीबोध गर्नुपर्छ । जसरी पनि आफूलाई चाहिँ उभ्याउने मूल्यमा चुनाव नाउँका भद्दा अभ्यासहरू गरिनुहुन्न । तलबाट सिकिएको यो पाठलाई एउटा सिकाइयोग्य शिक्षाका रूपमा माथिल्लो नेतृत्वले पनि अनुसरण गर्नुपर्छ ।
६.नेपाली राजनीतिमा एउटा गज्जव पक्ष छ– विभिन्न राजनीतिका विभिन्न दलका नेताहरू अपवादबाहेक प्रायशः अधिकांश सरकारमा गएका छन् । पटकपटक प्रधानमन्त्री र मन्त्री भएका छन् । सरकार गएपछि उल्लेख्य काम दिन नसकेर, नागरिकलाई सेवा प्रवाह गर्न नसकेर, भ्रष्टाचार आदिमा मुछिएर बद्नाम कमाएका छन्, डुङडुङति गहनाएका छन्, कतिपय मन्त्रीहरू त शीर निहुँराएर हिड्नुपर्ने अवस्थामा यत्रतत्र देखिन्छन्, भेटिन्छन् । हाम्रो पार्टी श्रद्धेय अध्यक्ष केपी शर्मा ओली मात्र यस्तो राजनीतिकपात्र हो, जो सरकारबाहिरसँगै वा वलपूर्वक सरकारबाट हटाइएसँगै चौतर्फी उहाँको हाय हाय बढेको छ, उहाँको नेतृत्वविरूद्ध आफूसमानका झण्डै आधा दर्जन नेतृत्वको पार्टी गठबन्धनको नाउँमा एकढिक्का भएको छ । एमाले पृष्ठभूमि भएकै कारण राष्ट्रपतिमाथिको हमला पनि राजनीतिक प्रतिशोधपूर्ण हुने गरेको देखिन्छ । तथापि, जति–जति उहाँ नेतृत्वमाथि निशान केन्द्रीत प्रहार हुन्छ, उत्तिनै उहाँको राजनीतिक क्रेज ह्वात्तै बढेको छ र उहाँकै कारण एमाले राष्ट्रिय राजनीतिको मियो भागमा उभिएको छ । गैरराजनीतिक ढंगले सिनेमाको पर्दा उघारिएको शैलीमा प्रदेश सरकारहरू ढालिएका छन् तर मुख्यमन्त्रीलगायत मन्त्रीहरूको उपस्थितिमा उत्तिकै निखार छ । जनताको बहुदलीय जनवादका अनुयायीहरू अहिलेसम्म कसैको धारे हातका शिकार भएका छैनन् । यसरी हेर्दा– यो महाधिवेशन मूलभूत रूपमा राष्ट्रिय राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिभावकीय भूमिका पुष्टि गर्ने थलो पनि हो । संस्थागत ढंगले नै उहाँको अपरिहार्यता औल्याउने मण्डप हो । महाधिवेशन मण्डप चितवनबाट नेपाली राजनीतिमा नेकपा (एमाले) निर्विकल्प शक्ति हो भनेर स्थापित गर्नु हो । जनताको बहुदलीय जनवादको शिल्पकारी प्रयोगको अनिवार्यतालाई नजिकैबाट जोड्नु पनि हो ।
७.जनताको बहुदलीय जनवादले पहलकदमी र प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने कुरालाई जोड दिए पनि विभिन्न कारणले गर्दा अहिले नै हामी त्यहाँ जानुहुँदैन । परिस्थितिजन्य कुरा हो । सधैँभरि एकनास नहुन पनि सक्छ । तथापि, परस्पर संवाद र संवादपछिको सहमति पनि अभिमतको सम्मान हो, लोकतान्त्रिक अभ्यास हो र सर्वस्वीकार्य विधि हो भने सबैलाई जिम्मेवार बनाउने उपाय पनि हो । भरसक सहमतिको विकल्प खोज्नुहुँदैन । सहमति हुँदा नेतृत्वले कतिपय एकदमै असजिला क्षणहरूमा अविचलित ढंगले पार्टीको पक्षमा उभिने र कुनै न कुनै भूमिकामा रहने साथीभाइमाथि विवेक पु¥याउनुपर्छ । यो सबैलाई स्वीकार्य हुनुपर्दछ । यति हुँदाहुँदै पनि हामी निर्वाचनमा गयो भने एकातिरको हारको परिणामलाई नस्वीकार्ने, आफ्नै कारणले हारेको भनेर भन्न नसक्ने, अर्कोमाथि दोष थोपर्ने र आउँदा दिनहरूमा लड्न र जित्नुपर्ने ठाउँहरूमा नखट्ने, नलाग्ने खतरा बढ्छ भने अर्कोतिर राजनीतिक समायोजनको प्रश्नभित्र साविक एमालेभन्दा कम संख्याको साथीहरू अहिलेसम्म नेतृत्वमा हुनुहुन्छ, जिम्मेवार हुनुहुन्छ । परिणामले उहाँहरूको हार हुने स्थिति विकास हुन्छ । यसबाट एकताको सन्देश सम्प्रेषण हुने कुरा टर्ने खतरा बढ्छ ।
८.नेतृत्व चयन र व्यवस्थापनको मनोविज्ञान बडा गज्जव ढंगले विकास भएको छ । यसबारे हाम्रो पहिलो भेट हुने सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यमहरूले पनि मथिङगल मच्चाइदिने गरेका छन् । राजनीतिक–बैचारिक प्रश्नको निरूपणभित्र पार्टी संगठन निर्माण र परिचालनको पक्षले नेतृत्व विकासको एउटा अवस्था माग गर्ने विषय एकातिर छ भने अर्कोतिर समयको जोडकोण र फलानोतिलानो ठाउँको समेत जिम्मेवार भएकोले यसपटक नेतृत्वमा आउनैपर्ने, ल्याउनैपर्ने मनोविज्ञान मुखर भएको छ । दोस्रो पुस्ता भनिएको कार्यकर्ता पंक्ति स्वयं ५० हाराहारीमा छ । एकातिर आन्दोलनमा पाकोपन हराउँदै गएको पक्ष छ भने अर्कोतिर युवा पुस्ताको उल्लेख्य अभावमा आधारभूत कमिटीहरू चल्न नसक्ने हो कि भन्ने अवस्था छ । बिचारले सुसज्जित कम्युनिष्ट आन्दोलनलाई न त लोकसेवा आयोगको जाँच प्रणालीअनुरूप लिन सकिन्छ, न त सुरक्षाकर्मी भर्तिका दौरान लिइने युवा परिचायक मादपण्डअनुसार नै । व्यक्तिको सक्रियता औसत कुनै युवा, तरुणतन्नेरीभन्दा कमजोर छैन भने उसलाई बृद्धबृद्धा भनेर उसको सक्रियता र निष्ठामाथि अपमानको बुट बजार्नु हुँदैन । युवा हुँदैमा औसत आयू नजिकै पुगेको व्यक्ति बराबरको सुझबुझ र सक्रियता राख्दैन भने उसलाई अधबैसका नाउँमा क्रेन लगाउनु पनि हुँदैन । समयले मानिसलाई आ–आफ्नो रापतापअनुसार विकास गरेको छ । आजको युवा तन्नेरीमा विज्ञान र यसले विकास गरेका प्रविधिमाथि न्युन पनि पहुँच छैन भने पहिलो पुस्ताको अपेक्षामा त्यसले खासै खोजविन, छानविन र अध्ययन–अनुसन्धानको काम गर्न सक्दैन । उमेरले ढकमक्क यो युवा र ज्ञान र अनुभवले खारिएको पहिलो पुस्तामाझ फरक भनेको उसको सक्रियतासँग दाँज्नुपर्छ ।
९.विधान महाधिवेशनमार्फत पार्टी राजनीतिक राजनीतिक–बैचारिक दिशा निरुपण, रणनीतिक कार्यदिशा, कार्यक्रमलगायत पक्ष टुंगो लगाइसकेपछि यो महाधिवेशन मुख्य गरी नेतृत्व छनौटमा केन्द्रीत हुने नै हो । यसबेला महाधिवेशनले भावनात्मक रूपले र मनोवैज्ञानिक रूपले विभाजित भएको शक्तिलाई एक ठाउँमा उभ्याउन सक्नुपर्छ । वडा–वडाबाट यहाँ उपलब्ध विभिन्न लिङ्ग, भाषा, धर्म, उमेरसमुह, अल्पसंख्यक, महिला, दलित, मुस्लिम, अपाङ्गलगायत क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनुभएका सबैले अपनत्वबोध र आफ्नो अभिभावक पार्टीको रूपमा एमालेलाई उभ्याउन सक्नुपर्छ । प्रतिनिधिको पंक्ति जोशिलो उत्साह लिएर गाउँ–गाउँमा फर्कन सक्ने अवस्था बन्नुपर्छ । असाधारण नेतृत्व क्षमता भएको एमाले नेतृत्वले यसलाई एउटा परिघटनाको रूपमा विकास गर्ने छ ।
१०.यो महाधिवेशनपछि नेकपा (एमाले) मात्र राष्ट्रिय स्वधिनता, राजनीतिक स्थिरता र समृद्धिको संकल्प लिएर शसक्त रूपमा अघि बढेको पार्टी हो भनेर प्रमाणित हुनेछ, एमालेविरूद्धका तानाबुनालाई चडाउने र नारायणी नदीमा बगाउने काम हुनेछ । महाधिवेशनसँगै हिजोका समुहबन्दीहरू समाप्त हुने छन् । जनताको बहुदलीय जनवादको सत्यापन प्रमाणित हुनेछ । परस्पर बैचारिक र भावनात्मक रूपमा एकताबद्ध हुनेछ । नेतृत्व निर्माणमा पनि सहमतिको प्रयासले एमाले राष्ट्रिय राजनीतिमा एकढिक्का छ भन्ने प्रमाणित हुनेछ । यहिँ सन्देश लिएर हामी कार्यकर्ताहरू आ–क्षेत्रमा लाग्ने छौँ । आत्मविश्वास र सन्तुष्टि सहितको व्यवस्थित, एकताबद्ध र कार्यकर्तामा आधारित पार्टी निर्माणको प्रश्नलाई टुंगो लगाउने छौँ । एमाले राजनीतिक, बैचारिक र यसको उज्ज्यालोमा क्रियाशील संगठनात्मक तागत निर्माण गर्ने छौँ । यहिँ उद्देश्यअनुरूप महाधिवेशनको भव्य र सभ्य सफलताका लागि हार्दिक शुभकामना ।
प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार २ : ५० बजे
प्रतिक्रिया