परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित

काठमाडौं ।  नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित हुनुभएको छ । 

शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ  नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । 

महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।  

महाधिवेशनबाट थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारको लागि संविधान सुधार सिफारिस आयोग गठन गर्नुपर्ने बिषय पारित गरेको छ ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षद्वय विनोद डाँगी तथा  गणेशकुमार श्रेष्ठ, महामन्त्रीद्वय सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा  तथा सह–महामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुलकैयुम शाह, अशोककुमार चौधरी, कोषाध्यक्ष गोविन्दनाथ मिश्र,  सहकोषाध्यक्ष बुद्धिमाया पुनमगरलाई चयन गरेको छ । 

यसैगरी, महाधिवेशनबाट ८५ जना केन्द्रीय सदस्य चयन गरिएको छ भने भौगोलिक तथा समावेशी समूहबाट ४ जना मनोनित गरिने जनाइएको छ । 

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई आर्थिक क्रान्तिको दशक’ घोषण गदै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : २६ बजे