दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अफगानिस्तानमा महिलालाई टेलिशृङ्खलामा नदेखाउन तालिबानको निर्देशन

बीबीसी । अफगानिस्तानमा तालिबान सरकारले महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाउने सहितका नयाँ नियमहरू लागू गरेको छ।

तालिबानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई पनि टाउको ढाक्न निर्देशन दिएको छ। यद्यपि निर्देशिकामा कस्तो प्रकारले ढाक्ने भन्ने कुरा स्पष्ट छैन।

पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन्।

अगस्टमा देशको सत्ता आफ्नो हातमा लिएको तालिबानले बिस्तारै कडा नियमहरू लागू गर्दै जाने डर धेरैले व्यक्त गरेका थिए। अमेरिकी र सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो।

सन् १९९० को दशकमा पनि तालिबानले सत्ता सञ्चालन गर्दा महिलालाई शिक्षामा र काम गर्न प्रतिबन्ध लगाएको थियो।

अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ निर्देशिकामा आठवटा नियमहरू छन्।

ती नियममा इस्लाम वा शरिया कानुन एवं अफगान मूल्य मान्यताविपरीतका चलचित्रहरूदेखि पुरुषका गुप्ताङ्ग देखाउन नपाइनेसम्मका कुराहरू छन्।

धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि देखाउन नपाइने नियम बनाइएको छ।

तालिबानले विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू देखाउन नपाइने बताउँदै आएको छ।

अफगान टेलिभिजन च्यानलहरूमा महिलाप्रधान विदेशी टेलिशृङ्खला प्रसारण हुँदै आएका थिए।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : २२ बजे