महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्छ : प्रदीपकुमार ज्ञवाली

काठमाडौँ ।  नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अब एमाले कुन ढङ्गबाट अगाडि बढ्छ भन्ने चासो आम नेपाली जनतामा बढ्दै गएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटिले आज काठमाडौँमा आयोजना गरेको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको विचार र नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले महाधिवेशनपछि एमाले एकढिक्का भएर अगाडि बढ्ने बताउनुभएको हो । 

अबको महाधिवेशनलाई एकता, उर्जा र संकल्पको रुपमा लिइएको भन्दै प्रवक्ता ज्ञवालीले पार्टी फुटाउन एमालेभित्रकै पात्रहरुले भूमिका खेलेको आरोप लगाउनुभयो । अबको महाधिवेशन पार्टी निर्माण र देश निर्माणमा केन्द्रीत रहेको समेत ज्ञवालीले प्रष्ट पार्नुभयो । 

कार्यक्रममा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशन आयोजनास्थलबाट स्वदेशी तथा विदेशी मिडिया सबैले प्रत्यक्ष प्रशारण गर्न मिल्ने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार चितवनमा यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुन गइरहेको महाधिवेशनमा पाँच लाख जनाले सहभागिता जनाउन मिल्ने गरी व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : ४३ बजे