काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरण सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।
उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो ।
उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन ।
प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्याय सम्पादन कार्यमा लाग्नुभएको छ ।
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गर्नुभएको थियो ।
सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीच बीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किनुभएको छ ।
अदालतमा मुद्दाको चापअनुसार नियमित रूपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए ।
प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार ११ : ५४ बजे
प्रतिक्रिया