साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ए डिभिजन लिग : ब्रिगेड र एपीएफ तथा मनाङ र जावलाखेल भिड्दै

काठमाडौँ । शहीद स्मारक 'ए डिभिजन लिग' फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १:००  बजे सुरु हुनेछ ।

आज दुवै टिम सुरुआती खेलमा जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा  तथा सनोज श्रेष्ठको प्रशिक्षणमा मैदान उत्रनेछ ।

पूर्व खेलाडी कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ टोपबहादुर विष्टको कप्तानीमा खेल्नेछ । दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमानी आठौँ पटकको मनाङ र जावलाखेल बीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

राजेन्द्र तामाङको  प्रशिक्षणमा रहेको मनाङ अञ्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ । जावलाखेल मनाङलाई हराउँदै अप्रत्याशित नतिजा दिन चाहन्छ । 

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको  लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्नेछन् ।

शनिवार भएको खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने थ्री स्टारले छिमेकी च्यासल यूथलाई ३-० ले पराजित गर्दै शीर्ष स्थानमा रह्यो ।

‍यसअघि, उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी सातदोबाटोले गोलरहित बराबरी खेले । 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ५० बजे