एमालेको १० औँ महाधिवेशनमा म सर्वसम्मतकै पक्षमा छु : पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० गतेदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि महाधिवेशन प्रचार समितिले तीव्र रूपमा तयारी थालिसकेको छ । नेताहरूले पार्टीको उम्मेदवारी घोषणा गरिरहँदा कतिपय नेताहरू सर्वसम्मतकै पक्षमा छन् । पार्टीको नेतृत्व दाबी र एमालेको आगामी लक्ष्यका विषयमा केन्द्रित रहेर एमालेकी केन्द्रीय सदस्य, अनेमसंघको केन्द्रीय सदस्य र पूर्व मन्त्री माननीय पद्मा अर्यालसँग चक्रपथकर्मी मीना घोरसाइनेले गरेको कुराकानी :

नेकपा एमालेको १० औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशनका लागि तपाईँले के कस्तो भूमिका खेल्दै आइरहनुभएको छ ? 

पार्टीको १० औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम भइरहँदा नतिजा सँगसँगै प्रतिनिधिका विवरणहरू प्राप्त भइरहेका छन् । आफू तथ्याङ्क विभागको सदस्यको हैसियतले प्राप्त तथ्याङ्कको रेकर्डको व्यवस्थापन गर्नका लागि अधिकांश समय खर्च भइरहेको छ । हामी त्यही काममा नै केन्द्रित भइरहेका छौँ । त्यसका अलावा महाधिवेशनका लागि सहभागिताका प्रश्नहरू र विषयहरूका बारेमा पनि छलफल र तयारी गरिरहेका छौँ । 

 

​​​​​​​अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी केमा रहन्छ ? 

पार्टीको नेतृत्व तहमा छलफल तथा संवादहरू भइरहेका छन् । यसलाई पार्टीको एकताको महाधिवेशन पनि भनेर हामीले घोषणा गरिरहेका छौँ । यसलाई पुष्टि गर्नुपर्ने हाम्रो काम र दायित्व छ । त्यसैले अबको महाधिवेशन पार्टीको पदाधिकारी तहसम्म सर्वसम्मत गर्ने भनेर काम अघि बढाइरहेका छौँ । पार्टीमा काम गरिरहेका कार्यकर्ता तथा नेताहरूको मूल्याङ्कन, क्रियाशीलता, क्षमता र पृष्ठभूमि सबै हेरेर उचित खालको मूल्याङ्कन गर्नेछ भन्ने हाम्रो विश्वास पनि छ । त्यसैले पार्टीले सर्वसम्मत रूपमा जे सूची प्रस्तुत गर्छ, त्यसमा हाम्रो सहमति रहन्छ । त्यसैलाई सहयोग गरेर जानेमा नै हामी केन्द्रित छौँ । यदि विषयहरू मिलेनन्, सहमति हुन सकेन र प्रतिनिधिहरूबाट जाने वा छानिने प्रक्रिया भयो भने त्यो बेला भएका पदहरूमा आफूलाई कहाँ उभ्याउँदा ठिक हुन्छ, त्यसैमा म आफूलाई केन्द्रित राख्छु । तर म सधैँ सर्वसम्मतकै पक्षमा छु, पार्टीले सर्वसम्मतबाटै अगाडी बढोस् भन्ने अपेक्षा पनि छ । त्यति मात्र नभई विगतको भन्दा सङ्ख्यामा भने बढोत्तरी होस् भन्ने अपेक्षा छ । 

तपाईँ आफैँ महिला नेतृ भएको नाताले अबको महाधिवेशनले महिला नेतृत्वलाई कसरी समेटोस् अपेक्षा राख्नुभएको छ ? 

पार्टीको विधानमा नै ३३ प्रतिशत महिलाको सङ्ख्यामा सुनिश्चितता गरिएको छ । त्यसैले अबको महाधिवेशनमा पनि महिलाको सङ्ख्या ३३ प्रतिशतबाट घट्दैन । अरू खुला ठाउँमा पनि प्रतिस्पर्धा गर्ने महिलाहरूलाई छुट छ । त्यसैले अबको महाधिवेशन महिलाको सङ्ख्यामा ३३ प्रतिशतबाट बढेर अगाडी जान्छ । हामीले त्यो कुरालाई त्यही ढङ्गले अगाडी बढाउन खोजिरहेका छौँ । जस्तो कोही खुलामा प्रतिस्पर्धा गर्नुहुन्छ, कोही महिलामा प्रतिस्पर्धा गर्नुहुन्छ । त्यसैले एमालेको विधानमा व्यवस्था भएको कुरालाई मध्यनजर गर्दै महिलाको सङ्ख्या वृद्धिमा केन्द्रित भएर जाओस् भन्ने अपेक्षा राखेकी छु ।

महाधिवेशनको चर्चा चलिरहँदा महिला नेतृत्वको दाँजोमा पुरुष नेतृत्वको बढी चर्चा सुनिन्छ नि !

महिलाहरू बढी धैर्यता पनि गर्छन्, जिम्मेवारीपूर्वक प्रस्तुत पनि हुन्छन् । तसर्थ अहिले एकताको महाधिवेशन, सहमतिको महाधिवेशन भनेर भनिरहेका बेलामा र नेतृत्व छलफलमा हुँदा स्वयं घोषणा गर्ने कुरा केही पनि देखिँदैन । यद्यपि कुरा मिलेन भने त्यसपछि प्रस्तुत हुने कुरा हुन्छ । अहिले उचालिएर केही काम पनि छैन । नेतृत्वको निर्णयलाई जो कोहीले पनि मान्नै पर्छ । 

तपाईँ त पूर्व मन्त्री पनि हुनुहुन्छ । त्यतिबेला महिला सहभागिताको विषयलाई कसरी उठाउनुभएको थियो ? 

पहिले म मन्त्रालयमा रहँदा महिलाहरूको पक्षको नेतृत्व गराउने, महिलाहरूलाई जिम्मेवारीका आधारमा स्थापित गराउने र महिला कर्मचारीको विषयमा ध्यान पुर्‍याएकै थिएँ । त्यो समयमा इतिहासमा पहिलोपटक कृषि विभागमा महिला महानिर्देशक पनि नियुक्त गरियो । जहाँ–जहाँ सम्भावना थिए, त्यहाँ पनि महिला कर्मचारीहरूलाई स्थापित गर्नुपर्छ भनेर पनि लागेकी थिएँ । अनुदानमुखी क्रियाकलापमा पनि महिलामुखी हुने गरी लानुपर्छ भन्ने नीति म आफू नेतृत्वमा हुँदा बनाएको छु । 

आगामी दिनमा महिला नेतृत्वका विषयमा तपाईँको भूमिका कस्तो रहन्छ ? 

महाधिवेशनपछि म पदमा छु भने पदकै आधारमा महिला नेतृत्वका विषयमा भूमिका निर्वाह गर्छु । यदि पदबाट बाहिर रहें भने पनि  समुदायको हितका लागि सल्लाह तथा सुझाव पेस गरी नै रहन्छु । जहाँ भइन्छ त्यहीँबाट आवाज उठाइन्छ । त्यसमा आफू भूमिका नै निर्वाह नगर्ने भन्ने हुँदैन ।  

अन्त्यमा महाधिवेशनका विषयमा के भन्न चाहनुहुन्छ ?

पहिलो अब हुन गइरहेको १० औँ महाधिवेशनमा नेकपा एमालेले के गर्छ, भन्ने विषयमा सबैको चासो रहेको देखिन्छ । दोस्रो हामीले विशेष स्थितिमा महाधिवेशन आयोजना गरिरहेका छौँ । त्यसैले हामीले भोलिका सम्भावनाहरूलाई भोलिका दिनमा अगाडी बढाउन सक्ने गरी यो महाधिवेशनलाई टुङ्ग्याउनुपर्छ । असजिलो परिस्थितिमा पनि महाधिवेशन आयोजना भएको हुँदा थप जटिलता सिर्जना नहोस् भन्ने कुरालाई हेक्का राख्दै सकारात्मक सूचना प्रवाह गर्ने गरी पार्टीमा सुदृढ एकता कायम भयो भन्ने सूचना दिने, कार्यकर्ताको संलग्नताको सङ्कल्प, एकताबद्ध नेतृत्वको चयन लगायतका कुरामा ध्यान दिनुपर्छ । जसका कारण आगामी दिनमा आउने चुनावमा फेरि नेकपा एमालेले जित्छ, यो पार्टी नै पहिलो पार्टी बन्छ भन्ने पनि विश्वास छ । फेरि नेतृत्वमा गइसकेपछि हिजो सरकारमा रहँदा जुन–जुन राष्ट्रिय महत्वका कामहरू अगाडी बढाइएको थियो, त्यसैलाई निरन्तरता दिने काम हामी गर्छौँ । त्यसैगरी जनताको विश्वासलाई थप मजबुत बनाउने र चुनावमा पहिलो पार्टी बनेर समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्ने काममा एमाले सधैँ क्रियाशील रहन्छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : ३६ बजे