साफ यू–१७ च्याम्पियनसिप आजदेखि

म पनि सक्रिय राजनीतिमा फर्किन चाहन्छु, तर………।

देश, प्रदेश, पालिका, पार्टी, सङ्घसंस्था सबै तिर नेता चाहिन्छ । नेता असल, दूरदर्शी, पारदर्शी, कर्मयोगी, सहयोगी, क्षमतावान्, गुणवान्, व्यक्तिगत स्वार्थबाट माथि उठेको भएमा आम मानिसले चाहेको जस्तो, सोचेको जस्तो विकास हुन सजिलो हुन्छ । विकासका लागि सबैभन्दा पहिलो सर्त सुशासन हो । सुशासन भनेको विधिको शासन हो । विधिको शासन मात्रै भएर पुग्दैन पारदर्शी पनि हुन जरुरी छ । विधिको शासनका लागि पहिलो सर्त विधि बनाउनेहरू विधिको मातहतमा आउनु प¥यो । विधि बनाउनेले विधि मान्नु प¥यो ।  

अहिलेको अवस्थामा सचेत र सुशासनका पक्षधर मतदाताको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको त छ तर त्यो सङ्ख्या प्राय मौन छ । नेतालार्ई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने जमात सक्रिय छ । यद्यपि त्यो धेरै ठुलो जमात होइन । आम मानिस, आम मतदाता इमान्दार नेता र विधिको शासन चाहन्छन् । तर चुनावमा टिकट पाउन र चुनाव जित्न इमान्दार छवि र सत्य बोलेर मात्रै सम्भव नै छैन । 

विधिको शासन लागू गर्न सबैभन्दा पहिला नेता विधिमा चल्नुपर्छ । यसो गर्दा कैयौँ सहयोग गर्ने कार्यकर्ता, दाता, सहयोगीको माग पुरा हुन सक्दैन । त्यो बेला नेताले विधि स्थापित गर्न, विधिको शासनको महत्त्व बुझाउन निकै कसरत गर्नुपर्छ । म विधिको शासनमा विश्वास गर्छु र यसलाई स्थापित गर्न जस्तोसुकै कठिन अवस्थामा पनि विचलित हुदिन भनेर सङ्कल्प गर्नुपर्छ । आइपर्ने दबाब झेल्न तयार हुनुपर्छ । सजिलै पाइने फाइदा अर्थात् आर्जन गुमाउन तयार हुनुपर्छ । यस्ता मानिसलाई चल्तीको समाज हुस्सु, सोझो, काँतर भन्छ, सहनु पर्छ । यहाँ त विधि विधान मिचेर हुने नहुने सबै काम गरिदिनेलाई सक्षम नेता भन्ने चलन छ ।   

देश चलाउने मन्त्री देशको कानुन मान्दैनन्, कानुन बनाउने सांसद कानुन मान्दैनन्, निष्पक्ष न्याय दिनुपर्ने न्यायधिस न्यायको किनबेच गर्छन् । प्रजातन्त्र, लोकतन्त्रको वकालत गर्ने र लोकतन्त्रकै कारण जीवित रहेका पार्टीहरूमा आन्तरिक लोकतन्त्र धेरै नै कमजोर छ । पार्टीका दस्ताबेजहरूमा समाजवादी आर्थिक व्यवस्था उन्मुख भनेपनि पार्टीका नेता र कार्यकर्ता दलाली अर्थतन्त्रका महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन् । हरेक वस्तु र सेवाको खरिदबिक्रीमा कमिसनको मोलमोलाइ हुनु यसको ज्वलन्त उदाहरण हो । धेरै राजनीतिक तथा सामाजिक कार्यकर्ताको जीविकाको आधार राज्य स्रोतमाथिको दोहन, अरूका उत्पादन वा सेवाको दलाली र अपारदर्शी कारोबारबाट धानिएको अवस्था छ ।  

नेता आफ्नो सम्पत्ति सार्वजनिक गर्दैनन्, आम्दानीको श्रोत के हो त्यो प्रष्टसँग बताउँदैनन् । व्यक्तिगत र पारिवारिक खर्च कसरी धानिएको छ त्यसको जानकारी दिन आवश्यक ठान्दैनन् । सम्पत्ति विवरण नै नदिने नेताले राज्यलाई तिर्नु बुझाउनु पर्ने राजश्व, कर तिर्दैनन् । नेता र नेता परिवारले सञ्चालन गरेका व्यवसाय पनि पारदर्शी छैनन् । त्यति मात्रै होइन अपारदर्शी कारोबार गर्ने प्राय सबै ठुला व्यवसायीहरू कुनै न कुनै ठुला नेताको पहुँचमा हुन्छन् । नवधनाढ्यको सूचिमा रहेका अधिकांश मानिसको कारोबार अपारदर्शी र शङ्कास्पद छ । तीनलाई कारबाहीको दायरामा ल्याउन राज्यका संवैधानिक अङ्गहरू असफल हुँदै गएका छन् । ती राजनीतिक पार्टीका शक्तिशाली नेताको छायाँमा लटपटिएका छन् ।

किन यस्तो हुन्छ ?

नेतालाई चाहिने पैसाको जोहो यस्तै व्यवसायी र भ्रष्ट चरित्रका कर्मचारीले पुरा गरिरहेका हुन्छन् । पार्टीका लागि चाहिने पैसाको जोहो पनि यस्तैबाट हुने गर्छ । पार्टीको जीवन अलोकतान्त्रिक छ, आर्थिक चरित्र अपारदर्शी छ । पार्टी र तिनका नेताले नै प्रचलित ऐन, नियमको धज्जी उडाउने गरेका छन् । त्यसको नियमन गर्ने कुनै निकाय नै छैन । यसरी नियम उलङ्घन गरे बापत न पार्टीले कतै जवाफ दिनु पर्छ न नेताले । 

चुनावमा उम्मेदवार लागि टिकट पार्टीले बढ्ने हो । पार्टीमा कमिटी प्रणाली कमजोर छ त्यहाँ केही नेताको बोलवाला हाबी छ । टिकट दिने हैसियत तिनै नेताले राख्छन् । ठुला नेतालाई नेता भइरहन आफूलाई समर्थन गर्ने जमात चाहिन्छ । नेताले चुनाव जित्न सक्ने आँकलन गरेर आफूमातहतका कार्यकर्ता तथा नेतालाई टिकट दिने हो । त्यो बेला कसले पार्टी र जनताको पक्षमा काम गर्न सक्छ, गरेको छ भनेर खासै हेरिँदैन । जनतामाझ कसको छवि राम्रो छ, आचरण कसको राजनीतिका लागि अनुकूल छ, कसले राजनीतिलाई पेसा होइन सेवाकोरुपमा लिन्छन् भनेर हेर्दा चुनावमा नजितिने सम्भावना पनि हुन्छ । त्यसो छवि भएका मानिसलाई पार्टीले टिकट दिएर चुनावमा पठाउनभन्दा थामथुम पारेर पार्टीको काममा नै लगाउने प्रयास हुन्छ । कतिपय अवस्थामा त यस्ता मानिस पार्टीको जिम्मेवारीबाट पनि किनारामा पारिने सम्भावना नै धेरै हुन्छ । 

पार्टीको नीति, सिद्धान्त बुझेका मानिसले जनतासँग अन्तर्विरोध भएका विषयमा जनताको पक्षमा काम गर्छन् भन्ने कुरा गौण हुन्छ । चुनाव नजिक हुँदा र चुनावमा जाँदा चुनाव कसरी जित्न सकिन्छ भन्ने मात्रै ध्यान हुन्छ । सङ्ख्याले सत्तालाई प्रभावित पार्ने भएकाले चुनाव जित्नु राजनीतिक पार्टीका लागि महत्त्व र अनिवार्य विषय हो ।  

चुनाव कसले जित्न सक्छ ? 

चुनावमा जसले बढी पैसा खर्च गर्न सक्छ उसैले जित्ने धेरै सम्भावना हुन्छ । किनकि चुनावमा उम्मेदवारको पक्षमा माहोल सृजना गर्न धेरैभन्दा धेरै मानिस परिचालन गर्नुपर्छ, प्रचारप्रसारका सामग्रीको जोहो गर्ने लगायतको काम गर्नुपर्छ । स्थानीय क्लब, समूहको डिमान्ड हुन्छ त्यसलाई हाताहाती सम्बोधन गर्नुपर्छ । त्यो बेला बिरामी भएकालाई घरमा, अस्पतालमा भेट्न जानुपर्छ । भेटेर मात्रै पुग्दैन उपचार खर्च दिनुपर्छ । यी र यस्तै देखिने खर्च बाहेक कतिपय समूहमा भोट दिन र लिन मोलमोलाइ हुन्छ । सबै ठाउँमा, सबै मतदातासँग उम्मेदवार आपैm पुग्न र भेट्न सम्भव हुँदैन त्यहाँ पुग्न र लेनदेनमा कुरा मिलाउन कार्यकर्ता परिचालन गर्नुपर्छ । कार्यकर्ता मध्ये धेरैले आधाआधामा काम गर्ने प्रवृत्ति हुर्कँदै गएको छ । घरमा दालभात पनि सधैँ नजुर्नेहरूमा पनि मासुभातभन्दा तलको कुरै हुँदैन । तिनका घरका समस्या पनि बुझिदिनु पर्छ । चुनाव जितेर गएपछि हामीलाई वास्ता गर्ने होइनन् अहिल्यै किन भेटेजति नलिने भन्ने मनोविज्ञान हुर्कँदै गएको छ । कार्यकर्ता र मतदातालाई पनि लाग्छ चुनाव जितेर गएपछि उनीहरूले पनि कमाउने नै हुन हामी किन त्यसै खटने भन्ने अनुभूति झाँगिँदै गएको छ ।

यतिले मात्रै पुग्दैन, चुनाव जित्न ढाँट्न र अभिनय गर्न माहिर हुनुपर्छ । बेरोजगारलाई जागिर, भोकालाई खाना, नाङ्गालाई नाना, बेघरलाई घर दिएर मात्रै वा दिन्छु भनेर पुग्दैन । फेल भएकालाई पास गराई दिने, सामाजिक अपराधीलाई सम्मान र पुरस्कार दिने, काला बजारिया, घुसखोरी, दलाल, भ्रष्टाचारी, बलात्कारी, कमिशन खोर, काम चोर सबैलाई तिनको पेसा र गरिरहेको कामको सुरक्षा प्रदान गर्ने बचन दिनुपर्छ । ठगलाई ठेक्का, लिच्चडलाई लाइसेन्स, तिनको ‘धन्धा’मा अवरोध गर्ने साधुलाई सुली चढाई दिन्छु भनेर विश्वासमा लिनुपर्छ । 

यो सबै झेल्न तयार भएको मानिसले चुनाव जितेर गएपछि गर्ने के हो ? उसले सकेसम्म ‘माल’ कमाउन पाइने ठाउँको खोजीमा ज्यान फालेर लाग्ने हो । त्यसरी पुगेका ठाउँमा पुग्दा गरेको बाचा पुरा गर्न, चुनावमा गुमेको धन अशुल गर्न र अर्को चुनावका लागि खर्च जुटाउन लाग्नुपर्छ । यो जित्नेको आदर्श हो र क्रमशः बाध्यता समेत बन्छ । यस्तो किन भयो भने पार्टी भित्र नीति, सिद्धान्त, आदर्श, मूल्य, मान्यता, राजनीतिमा लाग्नुको अर्थ आदिका बारेमा गम्भीर भएर छलफल नै हुन छाडेको छ ।  

त्यसैले चुनाव जितेका नेताले सार्वजनिक रूपमा भेटघाट गर्ने मानिस र भाषण गर्ने कुरा सामाजिक खपतका लागि मात्रै हुन्छन् । विश्वास पात्र दलाल तिनले नियुक्ति गर्छन् । महत्त्वपूर्ण ‘डिलिङ’ आफै गर्छन् । अरु नियुक्त दलालले उनको काममा सघाउने मानिसको सहयोगमा काम फत्ते गर्छन् । उनको काममा अवरोध गर्नेलाई डाँडा कटाउने, ठेकान लाउने जिम्मा पनि यस्तै दलालको सिफारिसमा हुन्छ । यस्तो दलालीमा लाग्ने मानिसमा आधा जति नेताका आफन्त, नजिकका विश्वास पात्र र आधा जति नेता बनाउन लगानी गर्ने ‘दानदाता’हरू हुन्छन् । दानदाताहरू वास्तवमा दानदाता नभई लगानी कर्ता हुन् । 

यता सोझा मतदाता र कार्यकर्ता नेताका अघिपछि हुन्छन्, जयजयकार गर्छन् । भाषणमा ताली पिट्छन् । तिनको न कहिल्यै पालो आउँछ न तिनले सोचेको, भनेको कहिल्यै पुरा हुन्छ । यो हाम्रो राजनीतिको अहिलेको वर्तमान यथार्थ हो । 

माथि मैले जुन यथार्थ प्रस्तुत गरेँ त्यो वर्तमान पार्टी र तिनले चलाउने राजनीतिको सम्पूर्णता होइन, अङ्स हो । यो राजनीतिको रोगी अङ्स बढ्दो क्रममा हुनु इमानको खेती गर्ने सबैकालागि चिन्ताको विषय हो । यो रोग बढ्न दिने हो भने हामीले अहिलेकोभन्दा खराब कुशासन भोग्न तयार भएर बस्नुपर्छ । होइन, यो अवस्था बढ्न दिनु हुँदैन यसलाई नियन्त्रण गर्दै निमिट्यान्न पार्न बल गर्नुपर्छ । देशमा सुशासन कायम गर्नुपर्छ । विधिको शासन स्थापित गर्नुपर्छ चोरलाई चौतारो र साधुलाई सुलिदिने प्रथाको अन्त्य गर्ने बाटोमा मुलुकलाई, समाजलाई लैजाने हो भने आम मानिसले, पार्टीका सदस्य र तिनका कार्यकर्ताले, भद्र र देशभक्त इमान्दार नेताले पहिला पार्टी भित्रैका यस्ता रोगी प्रवृत्तिका विरुद्ध अभियान चलाउनु पर्छ । 

​​​​​​​यो कति सम्भव छ ? 

मुलुक सधैँ चोरको चङ्गुलमा जकडिन सक्दैन । लोकतन्त्रमा चुनाव नै यस्तो अवसर हो जसले खराबलाई सुधार्दै अगाडि बढ्ने क्षमता राख्छ । यसका लागि हाम्रा चल्तीका खराब चलन एवं प्रवृत्तिहरूमाथि निर्मम प्रहार गर्नुपर्छ । क्रान्तिले उलटपलट गर्छ । पुरानोको स्थानमा नयाँलाई स्थापित गर्छ । सुधारले क्रमशः वैधानिक बाटोको यात्रा तय गर्छ । चुनाव आफैmमा क्रान्ति र सुधार दुवै चरित्र बोकेको औजार हो ।  

मतदाता सचेत बन्ने र तिनले विवेक प्रयोग गर्ने अवस्थामा खराबको सराबले, लठैतको लाठीले, अँध्यारोको आर्जनले खुट्टा घुमाउन सक्ने छैन । त्यसैले यो अवस्थाबाट माथि उठ्न राजनीति भित्र झाँगिँदै गएको रोगी प्रवृत्तिको अन्त्य गर्न, अन्त्य नै गर्न नसके पनि त्यसलाई टाउको उठाउन नदिन सुशासन पक्षधरहरू सङ्गठित हुन जरुरी छ । समाज र देशका लागि राम्रो गर्ने सङ्कल्प गरेर फेरी एक पटक राजनीतिको रोग र फोहर हटाउन आफ्नो खाएर, आफ्नो लाएर इमान पूर्वक योगदान गर्न आवश्यक छ । यस्तो अभियानको ज्वारभाटामा सामेल हुन तयार छु । 

लोकतन्त्रमा पार्टीको विकल्प पार्टी हो । पुराना पार्टीहरू भित्र सुधारको गुञ्जायस हुँदासम्म तिनलाई सुधार गर्न लाग्नुपर्छ । किनकि नयाँ पार्टी बन्नु सामान्य कुरा होइन । त्यस्ता प्रयास धेरै देखिए ती कुनै सफल भएका छैनन् र हुने अवस्था अरू केही दशक नै देखिँदैन । पार्टीको लोकतान्त्रीकरण र सुशासन आवश्यक छ । पार्टीलाई विधि पद्धति अनुरूप चलाउनु आवश्यक छ । नेतालाई कि फेर्नु पर्छ कि सुधार्नु पर्छ । यदि सुधारको अभियान पार्टीभित्र चल्छ र चलाइन्छ भने सबै पार्टीमा म र मजस्ता कुनै जिम्मेवारीमा नबसेका तर पार्टीमा निस्वार्थ योगदान गर्न चाहने धेरै मानिस आ–आफ्नो आस्थाको पार्टीमा त्यस्तो अभियानमा सक्रिय हुन तयार हुन सक्छौँ । पार्टीको आवश्यकताका आधारमा पार्टीभित्र र बाहिरको चुनावमा प्रतिस्पर्धा गर्न तयार हुन्छौँ । तर के पार्टीहरूले पार्टीभित्रका कमजोरी सुधारेर लोकतन्त्र र सुशासनको अभ्यास गर्ने मार्गलाई फराकिलो बनाउन सक्लान् ? 

​​​​​​​२०७८।७।१७

       

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  २ : २० बजे