‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमाले विभाजन रोक्न अन्तिम प्रयास : माधवसँग वार्ता गर्न खटिए दुई नेता,स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले विभाजन रोक्ने अन्तिम प्रयास स्वरुप माधव पक्षसँग बार्ता गर्न दुई नेतालाई खटाएको  छ । पार्टी विभाजनको उत्कर्षमा पुगिरहेका बेला  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाउनुभएको छ ।  

दुवै नेता ओलीको आधिकारिक प्रतिनिधि बनेर अहिले सिंहदरबार पुग्नुभएको छ  । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाउनुभएको हो  ।

यसलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास भनिएको छ । पौडेल र नेम्वाङ यसअघिपनि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा हुनुहुन्थ्यो । 

उता केहीबेरमै  नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बस्दैछ । 

एमालेका एक नेताका अनुसार आजको बैठकले माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने निर्णय गर्न सकिने बताइएको छ । 

पार्टीलाई फुटबाट जोगाउनका लागि एमालेका दुवै पक्षका नेताहरुको सक्रियता बढेको छ। पछिल्लो समय नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । यद्यपी संवादले कुनै ठोस निर्णय भने दिन सकेको छैन । ​​​​​​​

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ०४ बजे