यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको घुइँचो

​​​​​​​काभ्रेपलाञ्चोक । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्व जन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठुलो मेला लागेको छ ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजा अर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । 

बिहीबारदेखि लागेको मेलामा शनिवार बिहानसम्म एक लाखभन्दा बढीले नमोबद्धको दर्शन–पूजा अर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएरातभरि नमोबद्धमा मेला लागेको थियो । मेलामा परम्परागत गीत–नृत्य प्रस्तुत गर्नेको उत्तिकै भीड थियो । 

कोरोना महामारीका कारण बितेका दुई वर्ष मेला रोकिएपछि यो वर्ष नमोबद्धको मेलामा घुइँचो बढेको बताइएको छ । बितेको दुई वर्ष औपचारिक पूजा अर्चना गरी जात्रा मनाइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताउनुभयो । 

मेला अवधिभर ‘पितृ’को सम्झनामा बत्तीसमेत बाल्ने गरिन्छ । “बर्सेनि पितृलाई बत्ती बाल्ने गर्थे दुई वर्ष पाइन, यो वर्ष फेरि आएँ”, च्याम्राङ्बेँसीका कुलमान स्याङ्तानले भन्नुभयो । उहाँको परिवारका सबै जना मेला भर्न बिहीबार देखिनै नमोबुद्ध आउनुभएको छ । विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीहरूले मेला भर्ने नमोबद्धका मूल लामा गुरु कान्छा लामाले बताउनुभयो ।

उहाँका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य) का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत(जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देह त्याग गरी जीवन प्रदान गर्नुभएको थियो । 

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठुलो मेला लाग्ने गरेको हो । “पाँच डमरु जन्माएका बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामा गुरु लामाले भन्नुभयो । 

उहाँका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देह त्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्य सेवामा बिताउनुभएको थियो । लामा गुरुले भन्नुभयो, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजिअजिमाको नामले चिनिनुहुन्छ ।” 

संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तूपा (चैत्य) बनाएको अभिलेख पाइन्छ । उक्त पर्वत आठ हजार फिटको उचाइमा रहेको छ । 

उक्त पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति रहेको छ । नमोबद्धमा सधँैजसो स्वदेशलगायत विदेशका बौद्ध मार्गीको चहलपहल हुने गरेको स्थानीय राकेश लामाले बताउनुभयो ।  

उहाँका अनुसार मेलामा यस वर्ष छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोट लगायतबाट सहभागिता भएको छ । 

नमोबद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमोबद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दिपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ । 

राजकुमारको जन्म घर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ । 

उक्त गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध) मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रुख बिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता वन्यजन्तु पाइन्थ्यो । साथै, मयुर, हाँस, वनकुखुरालगायत पन्छी उक्त जङ्गलमा पाइने गरेकोमा हाल पाइन छाडेको लामा बताउनुहुन्छ । 

काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा पर्दछ । यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्ध मूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घर शैलीको मन्दिर रहेको छ । 

यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।  रासस

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : २२ बजे