साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग

काठमाडौँ । योग लोकप्रिय हुँदै जानुमा थुप्रै कारणहरू छन् । एउटा कुरा त यसले तपाईँलाई आफूबारे केही मूलभूत तथ्यहरूको बोध गराउँछ । तपाईँको शरीर एउटा ब्यारोमिटर–मापन गर्ने यन्त्र) जस्तै हो । 

यदि तपाईँले यसलाई हेर्ने तरिका जान्नुभयो भने, त्यसले तपाईँलाई आफ्नो बारेमा सबै थोक बताउनेछ । तपाईँले आफ्नो बारेमा सोच्ने काल्पनिक कुराहरू होइन, बरु ती कुराहरू जुन तपाईँको बारेमा सत्य हुन् । तपाईँको मन असाध्यै जाली हुन्छ । यसले हरेक दिन तपाईँलाई आफ्नो बारेमा फरक–फरक कुराहरू भनिरहन्छ । यदि तपाईँले आफ्नो शरीरलाई कसरी पढ्ने भनेर जान्नुभयो भने, यसले तपाईँलाई सबै थोक बताउनेछ, जस्तो ती वास्तवमा छन्— यहाँसम्म कि तपाईँको विगत, वर्तमान र भविष्य नै ! यसै कारण, मूलभूत योग शरीरबाटै सुरु हुन्छ ।

बदलिँदो फेशनअनुरूप थुप्रै कुराहरू आउँछन् र जान्छन् । तर, योग हजारौँ वर्षदेखि जीवित रहेको छ अनि यसले आज पनि गति लिइरहेको छ । भलै, यसलाई एकदमै मौलिक रूपमा सञ्चार गरिने भए पनि, वा यहाँसम्म कि कैयौँ पटक विकृत रूपमा सिकाइने भए तापनि, यो अझै टिकिरहेको छ । योग एक मात्र यस्तो प्रणाली हो, जुन १५ हजार वर्षभन्दा बढी समयसम्म कुनै धर्मगुरुको आश्रयबिना वा कसैद्वारा बलपूर्वक लागू नगरीकनै जीवित रहेको छ, टिकिरहेको छ । मानवताको इतिहासमा यस्तो कहीँ कतै भएको छैन, जहाँ कसैको घाँटीमा तरबार राखेर ’जसरी पनि योग गर्नै पर्छ ’ भनिएको होस् । यो अझैसम्म जीवित रहनुको कारण के हो भने, योगले मानव–कल्याणको निम्ति एउटा प्रक्रियाको रूपमा काम गरेको छ, जुन अरू कुनै पनि चीजले गरेका छैनन् ।

अर्को कुरा यो हो कि साधरणतया हेर्ने हो भने, आजको समयमा संसारमा मानिसहरू पहिलेको दाँजोमा निकै बढी तनावग्रस्त भएका छन्— चाहे किशोर किशोरी हुन् वा वयस्क उमेरका । मानिसहरू जति बेला पनि चिन्तामा डुबिरहने हुनाले मनोरोगी बनेका छन् । आफूभित्रको उथलपुथललाई शान्त पार्नको लागि मानिसहरू डिस्को जाने, यात्रामा निस्किने वा पर्वत चढ्ने जस्ता क्रियाकलापहरू गर्छन्, जसले केही हदसम्म राहत दिएको छ, तथापि यी कार्यहरूले मानिसहरूलाई समाधान प्रदान गर्न सकेको छैन । अतः योगतर्फ मानिसहरूको झुकाव हुनु स्वाभाविक भएको छ ।

आज संसारमा जुन प्रकारले अधिकांश ठाउँहरूमा योग गरिँदै छ, त्यो मरेको बच्चा जन्मिनु जस्तै भएको छ । मरेको बच्चालाई जन्म दिनुभन्दा गर्भवती नहुनु नै उचित हुन्छ, होइन र ? यदि तपाईँ सिक्स प्याक एब्स वा केही यस्तै चाहनुहुन्छ भने, म त भन्छु कि बरु तपाईँ टेनिस खेल्नुहोस् वा पहाड चढ्नुहोस् । योग कुनै व्यायाम होइन, यसका अरू कैयौँ आयामहरू छन् । यसले शरीरमा फरक किसिमको तन्दुरुस्ती र स्फूर्ति ल्याउँछ— यसबाट तपाईँले स्वास्थ्य लाभसमेत प्राप्त गर्न सक्नुहुन्छ, तर यो सिक्स एब्सको लागि गरिने होइन ।

पश्चिमी जगत्मा योग प्रवेश गरेको २० वर्षपछि अहिले यो लोकप्रिय हुँदै गएको छ, अनि अहिले चिकित्सकहरू अघि सरेर यसमा अध्ययन गरिरहेका छन् साथै यो भनिरहेका छन् कि “योग गर्नुमा थुप्रै फाइदाहरू छन् ।“ योगलाई बकम्फुसे तरिकाहरूले सिकाइने गरिएको भए पनि, पुरै संसारमा यसबाट स्वास्थ्य सम्बन्धी जे–जति फाइदाहरू भएका छन्, त्यसलाई कसैले पनि नकार्न सक्दैनन् । तर, यदि योगलाई गलत ढङ्गले एवं विकृति तरिकाले सिकाइने क्रम चलिरह्यो र फैलिँदै गयो भने, १०–१५ वर्षको समयमा तपाईँलाई वैज्ञानिक अध्ययनहरूले कुन–कुन कारणहरूले गर्दा योग गर्नु हानिकारक छ भनेर स्पष्ट रूपमा बताउनेछन्, अनि यसैबाट योगको पतन हुनेछ ।

योगलाई निकै सूक्ष्म तरिकाले ध्यानपूर्वक गरिनुपर्छ, जथाभाबी बल प्रयोग गरेर जबर्जस्ती मांसपेशीमा गाँठागुँठी बनाउनको लागि होइन, किनकि यो कुनै व्यायाम होइन । हाम्रो भौतिक शरीरमा पुरै यादहरू वा स्मृतिको संरचना हुन्छ । यदि तपाईँ यो भौतिक शरीरलाई पढ्न, बुझ्नको लागि इच्छुक र तत्पर हुने हो भने, सबै थोक जान्नुहुनेछ— किनकि, यो पुरै ब्रह्माण्ड शून्यताबाट अहिलेको अवस्थामा कसरी आइपुग्यो भन्ने कुरा यही शरीरमा लेखिएको हुन्छ । योग यस्तो प्रक्रिया हो, जसले ती सम्पूर्ण स्मरणहरू खोल्दछ, अनि यो जीवनलाई यसको चरम सम्भावनातर्फ डोर्‍याउँछ । वास्तवमा, योग अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो ।

–सदगुरुको प्रवचनमा आधारित

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : २९ बजे