भक्तपुरमा पानी ट्याङकी उद्घाटन र तीन सडकको शिलान्यास

​​​​​​​भक्तपुर – सूर्यविनायक नगरपालिका–९ चामुथलीमा एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको छ । 

दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो । सो ट्याङकीबाट स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ । 

    नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले आज संयुक्तरुपमा उक्त ट्याङकीको उद्घाटन गर्दै पानी वितरणको शुभारम्भ गर्नुभएको हो । 

    त्यसैगरी, सूर्यविनायक नगरपालिका–८ जगाती, बाँसिडोल हुँदै सिपाडोल (भक्तपुर इँटा टायल पर्खालसँगै) जाने आठ मिटर चौडा सडक विस्तार र स्तरोन्नति सुरु भएको छ । सरकारको रु ४५ लाख उपभोक्ताको ५५ लाखको लागतमा निर्माण सुरु भएको सो सडकको सांसद बस्नेतले शिलान्यास गर्नुभएको छ । 

    त्यसैगरी आजै सुनपा–८ सिपाडोल वडा कार्यालयबाट नैचाल बोकाचो गढी जाने सडकको शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापा र वडा नं ८ का वडाध्यक्ष किरण थापाले शिलान्यास गर्नुभएको सो सडकको निर्माण सहरी विकास मन्त्रालयको रु ४५ लाखको लागतमा हुनेछ । 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ४७ बजे