यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

गैरकानुनी हर्कतमा मुख्यमन्त्री पाण्डे : सहकारीको  साधारण सभासमेत गरेनन्, नेतृत्व गरेको संस्था पनि टाटपल्टिदै, ऋणमात्र साढे दुई अर्ब नाघ्यो

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको गैर कानुनी हर्कत छताछुल्ल भएको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ अनुसार पाण्डे सहकारीको अध्यक्ष बन्न नपाउने भएपनि पाण्डेले आफु मुख्यमन्त्री हुँदा समेत आफै सहकारीको अध्यक्ष भएर संस्था चलाइरहेको पाइएको हो । 

रोचक कुरा त मुख्यमन्त्री पान्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी नामक संस्थाको साधारण सभासमेत  ६ पटकसम्म स्थगित भएको पाइएको छ । 

संस्थाको २०७७ पुस १ गते बसेको सञ्चालक समितिले  पुस २४ गते १४ औं र १५औं वार्षिक साधारण गर्ने निर्णय गर पनि हालसम्म  साधारण सभा बस्न सकेको छैन । उक्त साधारण सभापनि छैटौं पटकसम्म सारिएको देखिएको हो ।

साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन समेत तयार गरी सदस्यको हात हातमा पुर्याईसकेको भएपनि नयाँ समितिको अध्यक्ष हत्याउन पाण्डेले साधारणसभा सारिरहेको सदस्यहरुको आरोप छ । 
‘संस्थाको अध्यक्षमा गणेश सिंखडाको दाबी छ तर, पाण्डेले पुनः अध्यक्ष बन्ने तयारीका कारण साधारण सभा पटक पटक सारियो ।’स्रोतले भन्यो । 

संस्थाको १६औं साधारण सभा समेत गर्ने समय भैसकेको भएपनि १४ औं र १५औं वार्षिक साधारण सभाले पूर्ण रुप पाउन नसकेको सदस्यहरुले बताए ।  

अर्बौको सम्पती तर संस्था सधै घाटामा  

पाण्डेले नेतृत्व गरिरहेको संस्था हाल साढे दुई अर्ब भन्दा बढी ऋणमा छ । संस्थामा २६ सय जनाको सेयर लगानी रहेको छ । सहकारीले मनमोहन मेमोरियल सामूदायिक अस्पताल, ठमेलमा पनि सञ्चालन गरेको थियो । उक्त अस्पताल भने गत वर्ष १ कात्तिक २०७७ देखि औपचारिक रूपमा बन्द भइसकेको छ ।

मनमोहन मेमोरियल कलेज परियोजना सञ्चालन गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सात वाणिज्य बैंकले दुई अर्ब १३ करोड एक लाख ९९ हजार ५ सय ८९ रुपियाँ ऋण लगानी गरेका थिए । त्यस्तै सहकारी संस्था तथा व्यक्तिगत लगानी १५ करोड ९७ लाख तीन हजार ५७ रुपियाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

आर्थि वर्ष २०७५र७६ मा संस्थाको घाटा पाँच करोड १८ लाख ६४ हजार ६७६ रुपियाँ थियो । आर्थि वर्ष २०७५र७६ मा आइपुग्दा संस्थाले १० करोड रुपैयाँ घाटा व्याहोरेको थियो । हालको अवस्थामा संस्थाको बार्षिक घाटा २५ करोड रुपैयाँ पुग्ने अनुमान छ ।

संस्थाले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । तर, उक्त अस्पताल वर्षेनी करोडौं रुपैयाँ घाटा व्यर्होदै आएको छ । 

तर, संस्थाले भने २५ पुसमै साधारणसभा गरेको दाबी गरेको छ । सहकारी ऐन तथा नियमावली र संस्थाको विनियमसमेतका आधारमा कानूनबमोजिम प्रक्रिया नपुर्याइ गरिएको साधारणसभालाई मान्यता नदिन केही सदस्यले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले प्रक्रिया पुर्याएर साधारण सभा गर्नु भनेर आदेश दिएको थियो । संस्था स्थापनादेखि नै पाण्डे अध्यक्ष छन् ।

संस्थाले सञ्चालन गरेको परियोजना (अस्पताल) घाटामा गए पनि संस्थाको सम्पत्ती भने प्रसस्त रहेको पाइएको छ । संस्थाको काठमाडौंको स्वयम्भूमा अस्पताल भवन सहितको २८।६ रोपनी जग्गा छ । यो जग्गा र भवनको २०१७ नोभेम्बरमा गरिएको मूल्यांकन अनुसार दुई खर्ब ८८ करोड ७१ लाख मूल्यांकन छ । दहचोकमा ६१ रोपनी जग्गासहितको निर्माणाधिन भवन छ ।

काठमाडौंकै दहचोकमा रहेको सम्पत्तिको मूल्यांकन एक अर्ब ३१ करोड २३ लाख रहेको छ । त्यस्तै उक्त संस्थाको नाममा कालिमाटी सोल्टीमोडमा ३२ करोड ८५ लाख मूल्यांकन भएको ४७ आना जग्गासहितको भवन छ । त्यसैगरी धादिङको धुनिवेशीमा ११ करोड ६९ लाख रुपियाँ मूल्यांंकन गरिएको १६७ रोपनी जग्गा र झापाको विर्तामोडमा १२ करोड मूल्यांकन भएको ६० कट्ठा जग्गा रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ५४ बजे