‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले महाधिवेशन : पदाधिकारीमा एक तिहाइ महिला सुनिश्चितताको दावी सकारात्मक 

नेकपा एमालेको दशौं महाधिवेशनमा पदाधिकारीमा एकतिहाइ महिलाको सहभागिता सुनिश्चित हुुनुपर्ने एजेन्डालाई पार्टी नेतृत्व समक्ष राख्ने र त्यसै अनुरुप उम्मेदवारी दिने निर्णय अगुवा महिला नेताहरुको छ । पटक–पटक पार्टीको औपचारिक या अनौपचारिक बैठकमा अष्टलक्ष्मी शाक्य, डा. बृन्दा पाण्डे, पद्मा अर्याल, डा. शिवमाया तुम्बाहाम्फे लगायका महिला नेताले १० औं महाधिवेशनमा एक तिहाई महिलालाई पदाधिकारीमा सुनिश्चित गराउने एजेन्डा समावेश गराउन दबाब दिने निर्णय, सकारात्मक छ । एमालेले केन्द्रिय सदस्यमा ३३ प्रशिशत महिलालाई सुनिश्चित गरेको छ भने संविधानमै सबै खालको आरक्षण र सहभागितालाई पार्टीको केन्द्रिय कार्यसमितिमा संरक्षित र सुरक्षित गरेको छ । तर पदाधिकारीको हकमा भने यो कार्यान्वयन भएको छैन । त्यसो त पदाधिकारीमा ३३ प्रतिशत अनिवार्य व्यवस्था भने होइन । तर पनि नेपालको सबैभन्दा ठूलो दल र सबैभन्दा ठूलो कार्यकर्ता पंक्ति भएको प्रभावकारी संगठन एमालेले पदाधिकारीमा ३३ प्रतिशत महिलाको व्यवस्था गर्नुले नेपाली राजनीतिमा नयाँ पद्धतीको विकास हुनेछ ।

संगठनका दृष्टिकोणले अग्रणी, विचारका दृष्टिकोणले प्रगतिशील र नेतृत्वका दृष्टिकोणले सक्षम र योग्य नेतृत्व भएको एमालेले थालनी गर्ने लोकतान्त्रिक, समावेशी र सहभागितामूलक अभ्यासले नेपाली राजनीतिलाई नै प्रभावित गर्छ । एमालेभित्र नेतृत्व तहमा पुग्न सक्ने सक्षम र योग्य महिलाहरुको कमी छैन । जनसंगठनदेखि पार्टीका केन्द्रिय निकाय र विभागहरुमा समेत क्षमतावान् र लोकप्रिय जनाधार भएका महिला नेतृहरु हुनुहुन्छ । एमालेको विरासत विद्यादेवी भण्डारी, सहाना प्रधान, अष्टलक्ष्मी शाक्यहरुले निर्माण गरेको विरासत हो । व्यवस्थापिका र कार्यपालिकादेखि राज्यका विभिन्न महत्वपूर्ण निकायहरुमा महिलाहरुको उल्लेखनीय सहभागिता सुनिश्चित गर्ने आन्दोलनको नेतृत्व वर्तमान राष्टपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । उहाँकै योगदान र भूमिकाका कारण महिलाहरुको ३३ प्रतिशत आरक्षणको सुनिश्चितता भएको हो । देशका हरेक महत्वपूर्ण आन्दोलन र समावेशी सहभागितामूलक व्यवस्थाका निम्ति एमालेले महत्वपूर्ण राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको छ ।

त्यसैले आसन्न दशौं महाधिवशेनबाट पार्टीको महत्वपूर्ण पदाधिकारीहरुमा सक्षम र योग्य महिला नेताहरु निर्वाचित र मनोनित हुने व्यवस्था गर्नु उपयुक्त हुन्छ । नेपालको पहिलो महिला राष्ट्रपतिदेखि पहिलो महिला मुख्यमन्त्रीसमेत एमालेबाटै हुनुभएको यथार्थले एमालेको प्रभावलाई संकेत गर्दै आएको छ ।

एमालेविरुद्ध अहिले जसरी केही दलले नक्कली र अस्थायी मोर्चा खडा गरेर योजनावद्ध ढंगमा आक्रमणको प्रयास गरेका छन्, त्यसको कुनै अर्थ र औचित्य छैन । किनकि ती दल र तिनका नेता आफ्नो पार्टीलाई प्रभावशाली बनाउनेमा होइन एमालेको बढ्दो लोकप्रियतामा अत्तालिएर अस्थायी मोर्चामा लागेका हुन् । राष्ट्रिय स्वार्थको संरक्षण गर्नेदेखि विकास निर्माणको कामको नेतृत्व एमालेले गरेको छ । त्यसको प्रमाणको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वलाई लिन सकिन्छ । अहिले माधव नेपाल नेतृत्वको पार्टीबाट अलग भएपनि त्यसले एमालेलाई क्षति पुर्याउने कुनै हैसियत राख्दैन् । बरु माओवादी केन्द्रको ठूलो पंक्ति एमालेमा रहँदा र व्यापक रुपमा एमाले प्रवेशको लहरले फेरि पनि यो देशको एक मात्र विकल्पका रुपमा एमाले स्थापित हुँदैछ । पार्टीको दशौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेर आउने तीनै तहका निर्वाचनहरुमा एमालेले प्रष्ट बहुमत ल्याउने सम्भावना बलियो बन्दैछ । अहिले जसरी एमालेले सबै पक्ष, वर्ग र तहलाई समेटेर पार्टीलाई देशव्यापी रुपमा विस्तार गरेको छ । त्यसका कारण नै एमालेप्रति जनाआकर्षण बढेको देखिन्छ । त्यसका संकेतहरु एमालेका निम्ति मात्रै होइन देशका निम्ति पनि सकारात्मक छन् । एमाले त्यसै पनि सहभागितामूलक समावेशीतामा अरु पार्टीभन्दा अगाडि छ । त्यसमा पनि आउने महाधिवेशनले पार्टीको केन्द्रिय पदाधिकारीमा महिलाको निश्चित सहभागिता गराउन सकेमा यो पार्टी अग्रगमन र प्रगतीशीलताको एउटा नमूना बन्ने छ ।
 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ०४ बजे