एमालेनिकट उद्योगी/व्यवसायीको राष्ट्रिय भेलालाई अध्यक्ष ओलीले आज सम्बोधन गर्नुहुने

काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको आज हुने राष्ट्रिय भेलालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । भेलामा देशभरबाट उद्योग व्यवसायमा संलग्न रहेका नेकपा एमालेनिकट व्यवसायीहरूले सहभागिता जनाउने र नयाँ नेतृत्वको अनुमोदन गर्ने अध्यक्ष एलपी सावाँ लिम्बुले जानकारी दिनुभयो ।

नेकपा एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ । भेलाको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ । भेलामा नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौँको लैनचौर बैंकेटमा बिहान १०.३० बजेपछि सुरू हने भेलामा महासंघको केन्द्रीय सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, कर्पोरेट प्रदेशका सदस्यहरू, महासंघका जिल्ला शाखाका पदाधिकारी, सबै वस्तुगत संगठनका सदस्यहरू सहभागी हुनेछन् । भेलाले संगठन विस्तार सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ ।

राष्ट्रिय भेलाले महासंघको नेतृत्वको अनुमोदन गर्ने र मंसिर १० देखि १२सम्म हुने एमालेको महाधिवेशनमा सहभागिता र जनपरिचालन गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : १४ बजे