काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्म जयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले सिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उहाँले गराउनुभयो ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधु सन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो ।
यसैगरी, पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्म जयन्ती मनाइने जनाइएको छ ।
यस वर्ष पनि कोरोना महामारीको जोखिम कायमै रहेका कारण भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर नानक जयन्ती मनाइने जनाइएको छ ।
यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्म जयन्ती मनाउने गरिन्छ ।
सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरु नानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गर्नुभएको थियो । निर्गुण उपासनाका पक्षपाती गुरु नानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन्, यही नै सत्य हो’ भन्नेमा उहाँ विश्वास गर्नुहुन्थ्यो । रासस
प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ७ : १२ बजे
प्रतिक्रिया