मुटु सम्बन्धी समस्या त छैन ? कसरी थाहा पाउने ? यस्ता छन् चिकित्सकका सुझाव

मुटु रोग के हो ?  कति प्रकारका हुन्छन् ?

मुटु र रक्तनलीसम्बन्धी रोग गम्भीर प्रकारका हुन्छन् । त्यसबाट मानिसको तत्काल मृत्यु समेत हुन सक्छ । हाल नेपालका करिब १५ प्रतिशत अर्थात् ४५ लाख मानिस कुनै न कुनै प्रकारको मुटु रोगबाट ज्यान गुमाइरहेका छन् । जुन कुल मृत्युको २५ प्रतिशत हो । हाल नेपालमा २० प्रतिशतमा उच्च रक्तचाप र ३ प्रतिशतमा कोरोनरी मुटु रोग देखिएको छ । यस्तै स्कुल जाने उमेरका करिब १.२ प्रतिशतलाई बाथ मुटुको रोग लागेको पाइन्छ ।

मुटु र रक्तनलीसम्बन्धी रोग विभिन्न प्रकारका छन् ः कोरोनरी मुटु रोग र हृदयघात, मुटुको बाथरोग, जन्मजात हुने मुटुको रोग आदि ।

 

मुटुको समस्या कुन उमेर समूहमा बढी हुन्छ ?

पुरुषको हकमा ५५ र महिलाको हकमा ६५ वर्ष माथि यो रोग बढी देखिने भए तापनि पछिल्लो समयमा व्यक्तिहरूको जीवनशैली, खानपान, कसरत जस्ता कुराले युवा अवस्था र बच्चामा पनि मुटुका रोगहरू देखिने गरेको देखिन्छ ।  

 

​​​​​​​मुटुलाई जोगाउन के गर्ने ?

स्वास्थ्य खानेकुराको सेवन गर्ने 

समयमै सुत्ने र अनावश्यक तनाव नलिने

प्रशस्त मात्रामा पहेँला फलफूल सेवन गर्ने

चिनी, नुनिलो र चिल्लो पदार्थको कमै मात्र सेवन गर्ने

हरियो सागसब्जी प्रशस्त खाने

नियमित शरीरीक व्यायाम गर्ने

धु्रमपान र मद्यपान नगर्ने

 

मुटुमा समस्या छ भनेर कसरी पहिचान गर्ने ?

छातीको बीच भागमा अत्यधिक पीडा हुने

परिश्रम गर्दा दम बढ्ने

खुट्टाहरू सुन्निनु

मुटु बेतालले धड्किनु

चक्कर लाग्नु

बेहोस हुने 

अत्याधिक चिन्ता लाग्ने

घाँटीको रत्तनली सुन्निने

जोर्नीहरू दुख्नु

 

मुटु रोग लाग्ने कारक तत्त्वहरू ?

मद्यपान वा धु्रमपानको सेवन

मोटोपना

उच्च रक्तचाप

खानेकुराको सेवनमा परिवर्तन

रगतमा कोलेस्ट्रोल वा चिल्लो पर्दाथ बढ्नु

व्यायामको कमी

फलफूलको सेवन नगर्नु

वंशाणुगत समस्या

चिल्लो, नुनिलो र चिनीको पदार्थको बढी सेवन ।

 

उच्च रक्तचापले मुटुमा कस्ता असर पुर्‍याउँछ ?

उच्च रक्तचाप विश्वव्यापी समस्या हो । बढ्दो औद्योगीकरण, सहरीकरण र सामाजिक आर्थिक विकासले ल्याएको परिवर्तित जीवनशैलीका कारण बढ्दै गएको मोटोपना, औषत आयु र मानसिक तनावका कारण यो रोग विश्वभर मात्र नभई नेपालमा पनि प्रतिदिन बद्दो क्रममा छ ।

यसले शरीरका दुई मुख्या अङ्गहरू मुटु र मस्तिष्कमा नकारात्मक असर पुर्‍याउने गर्दछ । जस्तै ः 

मुटुको बायाँ भेन्ट्रिकल सुन्निने

मुटुको पम्प कमजोर हुने

हृदयघात तथा मुटुका धमनीहरू रोकिने अवस्था

मुटुको चालमा हुने गडबडी

रक्त नलीमा हुने असर

मुटु फुक्न वा फैलिन नसक्ने

¬मस्तिष्कमा हुने असरहरू

नेपाल सरकारले मुटु रोगका बिरामीहरूलाई के–कस्ता सेवा सुविधाहरू प्रदान गरेको छ ?

हाल नेपालमा जस्तोसुकै मुटु रोगको उपचार सम्भव हुँदै गएको छ । सर्वसाधारण जनतादेखि देशका मन्त्री, प्रधानमन्त्रीसम्म मुटुको उपचार स्वदेशमै भइरहेको छ । हाल १५ वर्षमुनिका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार हुँदै आएको छ । त्यस्तै सरकारले त्यस्ता रोगीलाई एक लाखसम्म उपलब्ध गराउँदै आएको छ । जसबाट आम सर्वसाधारण जनताले समेत सहज उपचार गर्न पाइरहेका छन् ।

 (डा अमोघ बस्न्यातसँग चक्रपथकर्मी युवराज ढुङ्गेलले गर्नुभएको कुराकानी)

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  २ : ४७ बजे