आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुपन्देहीमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो 

बुटवल । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ । 

राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या कमी भएको पाइएको हो । विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो ।

 जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७–७८ र आर्थिक वर्ष २०७६–७७ मा राहदानी बनाउने घटेका छन् ।

आर्थिक वर्ष २०७७–७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५ सय २६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७५–७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६–७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को कात्तिक मसान्तसम्म विगतका दुई आर्थिक वर्षको तुलनामा बढी राहदानी वितरण भएका छन् ।

“कोरोना महामारीका कारण विदेश जानेको सङ्ख्या घटेको हो, स्थिति सहज बन्दै गएपछि राहदानी बनाउने फेरि बढ्न थालेका छन्” उहाँले भन्नुभयो।

आर्थिक वर्ष २०७६-७७ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पाँच हजार ५७५ वटा राहदानी जारी भएका थिए । जसमा साधारण राहदानी पाँच हजार १८८ वटा, नाबालकका ११५ वटा, हराएका २७५ वटा रहेका छन् । सोही आर्थिक वर्षमा एक हजार ३०० महिला र चार हजार २६१ पुरुषले राहदानी लिएका छन् । 

त्यस्तै ८७६ वटा द्रुत सेवाका लागि राहदानी सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । 

अघिल्लो आर्थिक वर्ष भन्दा उक्त आर्थिक वर्षमा एक हजार ४५४ वटा राहदानी कम वितरण भएका छन् । कोरोना महामारी सुरु हुनुभन्दा अगाडि अर्थात् आर्थिक वर्ष २०७५–७६ मा भने राहदानी बनाउनेको सङ्ख्या उल्लेख्य थियो ।

यो आर्थिक वर्षमा ६ हजार ६२१ साधारण, १२६ वटा नाबालक, २८२ वटा हराएका गरी सात हजार २९ वटा राहदानी जारी भएका छन् । उक्त आर्थिक वर्षमा एक हजार १३३ वटा द्रुत सेवाका राहदानी सिफारिस भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : ५५ बजे