आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

तुलसीपुरमा महिला कारागार बन्ने

दाङ – दाङको तुलसीपुरमा महिला कारागार बन्ने भएको छ । महिला कैदी बन्दीका लागि सुविधा सम्पन्न कारागार बनाउने गरी शिलान्यास पनि गरिएको छ । 

२०८० भदौ २ गते निर्माण कार्य सम्पन्न गर्ने गरी प्रशंसा कन्स्ट्रक्सन कैलालीले ३ करोड २९ लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ । २०७८ साउन २५ गते सम्झौता गरिएकोमा बुधवार भवनको शिलान्यास भएको छ । 

२ सय २५ जना क्षमता रहेको तुलसीपुर कारागारमा अहिले ४ सय ९८ जना कैदी बन्दी बस्दै आएका छन् । जसमध्ये ४ सय ६६ पुरुष, २९ महिला र ३ जना नाबालिका रहेको कारागार प्रशासनले जनाएको छ । 

दुई वटा कारागार भवन रहेको तुलसीपुरमा महिला कारागार छुट्टै भने पछि कारागार भवन तीन पुग्ने  छ । २० कोठाको सुविधा सम्पन्न भवनभित्र पुस्तकालय, वर्कसप तथा सिप विकास कक्ष, मनोरञ्जन कक्षका साथै ८२ महिला बेड रहने छन् । 

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समयमै काम सम्पन्न गरेर इमान्दारिता देखाउन निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । तुलसीपुरमा महिला कारागार भवनको शिलान्यास गर्दै उनले एकाध निर्माण व्यवसायीले समयमै निर्माण कार्य सम्पन्न नगरेका कारण अन्य निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण जनमानसमा फरक रहेको बताउँदै समयमा काम गर्न निर्देशन दिएका थिए । रेग्मीले तोकेको समय अगावै भवनको निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने र ढिलासुस्ती गरेमा दण्डित गर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ७ : ४५ बजे