एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न ओलीको चेतावनी 

नेपालगञ्ज – एमाले अध्यक्ष केपी ओलीले आफ्नाे पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिनुभएको छ । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनुभएको हो  ।

उहाँले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै , ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार-चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’

उहाँले नेपाली कांग्रेसका प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गर्नुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाउँदै भन्नुभयो  ‘नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ ।’ उहाँले आफूले सुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले बिजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताउनुभयो ।

‘२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरूलाई आफैले भारतबाट बिजुली किनेर भए पनि लोडसेडिङको अन्त्य गर्दै अहिले आफ्नै उत्पादन खपत गरौ भन्नेसम्म पुर्‍याइयो’, उहाँले भन्नुभयो , ‘फेरि अहिले बिजुलीबाट चल्ने बसको कुरा पनि मैले नै सुरु गरेको सुरु गरेको हो र २० वर्षमा गर्न नसक्ने विकास हामीले गरेर देखाइदिएका छौ ।’ एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको व्यापार चल्न नसक्ने भएपछि विपक्षीहरूले पद बाँडेर सरकार ढालेको आरोप लगाउँदै उहाँले भन्नुभयो , ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताउनु भयो ।

कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्वजिविस सभापति पशुपतिदयाल मिश्र, अब्दुल करिम खानलगायत ३ हजार ९ सय ४३ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए । ‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो’, उहाँले भन्नुभयो, ‘चुनाव अगाडि नै एमालेले बाँके जितिसक्यो ।’

एमाले कुनै जात विशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उहाँले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको बताउनुभयो । 

-रुद्र सुवेदी

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : ३१ बजे