आफ्नै सरकार ढालेर काँग्रेसको पछि लाग्नेको बुद्धि कस्तो होला ?

धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई थोत्रो पार्टीको संज्ञा दिनुभएको छ ।

धनकुटाको छिन्ताङमा आज आयोजित पार्टीको जनसभालाई सम्बोधनका क्रममा ओलीले कांग्रेसलाई यस्तो संज्ञा दिनुभएको हो । ‘कांग्रेस धेरै थोत्रो पार्टी भइसक्यो अब कामै लाग्दैन’ उहाँले भन्नुभयो, ‘तर त्यहीं कामै नलाग्ने थोत्रो पार्टी कांग्रेसका पछाडि लाग्ने कस्ता होलान् ?’

अध्यक्ष ओलीले त्यही थोत्रो पार्टी कांग्रेसको पछि लागेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले दुईतिहाइको सरकार ढालेको आरोप पनि लगाउनुभयो ।

‘कांग्रेसको पछि लागेर आफ्नो दुईतिहाइको सरकार ढाल्नेहरु अहिले त्यही बुढो कांग्रेसको पछि लागेर एमालेलाई सक्ने भन्दैछन्,’ उहाँले भन्नुभयो, ‘आफ्नै सरकार ढालेर थोत्रे पार्टीको पछि लागेर सरकारमा सहभागी हुने उनीहरुको बुद्धि कस्तो होला ?’

कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिकामा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : ३७ बजे