सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

‘नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा प्रयोग गरौँ’

काठमाडौं – नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको योगदानलाई चीरस्थायी बनाउन काठमाडौँ महानगर पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रम बनाएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । 

नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिले महानगरको वडा १५ र स्थानीय सहयोगमा लखतीर्थमा आयोजना गरेको शंखधर दिवसको समारोहलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘शंखधर पार्कमा साख्वाको पूर्ण कदको प्रतिमा स्थापना गरेका छौँ । महानगरको सहयोगमा मध्यपुर थिमीमा निर्माण भएको पार्कको नाम नै शंखधर पार्क नामाकरण गरेका छौँ ।’ 

साख्वाले किसानको ऋण मोचन गरेको कथनसँग जोडिएको लखतीर्थलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको जानकारी दिएका उहाँले योजना कार्यान्वयनमा जाने बताउनुभयो  । 

नेपाल संवत् नेवार समुदायको मात्र नभएर नेपालीको मौलिक संवत् रहेको भन्दै महानगर प्रमुख शाक्यले भन्नुभयो, ‘नेपाल संवत नेवारको मात्र होइन । यो सबै नेपालीको मौलिक संवत् हो । यसको प्रवर्धनका लागि महानगरले आफ्नो दायित्वमा भएका कार्यक्रमलाई प्राथमिकता दिएर कार्यान्वयन गरिरहेको छ ।’

त्यस क्रममा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले नेपालको मौलिकतासँग जोडिएको नेपाल संवत्लाई व्यावहारिक कार्यान्वयनमा ल्याउन काम गर्नेपर्ने बेला आएको बताउनुभयो । 

कार्यक्रममा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले साझा विषय राजनीतिभन्दा माथि हुने भएकोले काम गर्दा बाधा नहुने धारणा राख्नुभयो । न्हूँद राष्ट्रिय समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले नेपाल संवत्लाई व्यावहारिक बनाउन जनाइएका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभयो । 

११४२ वर्षअघि शंखधर साख्वाले ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नै सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका थिए । 

उनको योगदानको सम्मान गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् ३ मंसिर २०५६ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । यो दिनलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिन्छ । 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : ३७ बजे