लुम्बिनी प्रदेशबाट महाधिवेशनका लागि एमालेका २ सय ७ जना प्रतिनिधि छानिए

बुटवल । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २ सय ७ जना प्रतिनिधि छानिएका छन् । 

खुला प्रतिस्पर्धाबाट १ सय ४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले बताउनुभयो ।

१ सय ४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाको उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ । खुल्लातर्फ अन्य पुरुष ९२ जना, जनजाती पुरुष २४ जना, दलित पुरुष २०  जना, मधेसी पुरुष ६ जना र मुस्लिम पुरुष तीन निर्वाचित भएका छन् । “कुनै पनि महिलाको खुलातर्फ मनोनयन नै परेन, चुनिएका सबै महिला आरक्षण कोटाबाट मात्रै प्रतिनिधि भएका छन्” उहाँले भन्नुभयो ।

महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला नौ जना, जनजाती महिला १० जना र मधेसी महिला एक जना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै महिला आरक्षित कोटाबाट चुनिएको एमाले प्रदेश अध्यक्ष गिरीले बताउनुभयो ।

कतिपय जिल्लामा निर्वाचन हुँदा महिला कोटामा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य पराजित भएका छन् । 

रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालसमेत आरक्षण कोटाबाट प्रतिनिधि छानिएका छन् । 

पार्टी नेताहरूको आग्रह अनुसार खुलामा लड्ने चाहना हुँदाहुँदै पनि आरक्षण कोटाबाट प्रतिनिधि बन्न बाध्य भएको एमाले प्रदेश कमिटी सदस्य सावित्रा अर्यालले बताउनुभयो । 

नवलपरासी र रुपन्देहीबाट अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ०१ बजे