यस्तो छ आजको विनिमय दर

ओखलढुङ्गामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

ओखलढुङ्गा । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४  घाइते भएका छन् । 

प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारी डाँडामा आज बिहान दुर्घटना भएको थियो । बलेरोमा यहाँ स्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।  

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन । 

प्रहरी प्रमुख काफ्लेले बलेरोमा  १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो ।  

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । 

दुर्घटना लगत्तै प्रहरी चौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । 

एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बुलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् । रासस

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ४५ बजे