साफ यू–१७ च्याम्पियनसिप आजदेखि

न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक अष्ट्रेलियाले जित्यो टी–२० विश्वकपको उपाधि

काठमाडौँ । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी–२०  विश्वकपको उपाधि उचालेको छ ।

दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्दै अस्ट्रेलिया पहिलो पटक टी-२० विश्वकपको उपाधि उचाल्न सफल भएको हो ।

टी–२० विश्वकपको सातौँ संस्करण सम्पन्न हुँदा वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ भने यसअघि भारत, इङल्यान्ड, पाकिस्तान र श्रीलङ्काले १–१ पटक उपाधि जितेका थिए ।

एक दिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले दोस्रो विकेटका लागि वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ५३ रन बनाएर भने  मार्सले अविजित ७७ रन बनाए ।

यसअघि कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा ८५ रनको अर्धसतकीय इनिङ खेलेपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो ।

अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए । 

अष्ट्रेलियाको जीतसँगै पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डको पहिलो पटकमै उपाधि जित्ने योजना सफल हुन सकेन । 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : २७ बजे