बाढीको स्थितिमा सुधार

एमाले महाअधिवेशन : अधिवेशनदेखि प्रतिनिधि छनौटसम्म सर्वसम्मत

बागलुङ – नेकपा (एमाले) बागलुङले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट १२ जना प्रतिनिधि सर्वसम्मत छनौट गरेको छ । पार्टी विभाजनपछि भएको पहिलो वडा तथा स्थानीय तहको नेतृत्व छनौट सर्वसम्मत रूपमा सम्पन्न गरेको एमालले महाधिवेशन प्रतिनिधि पनि सहमतिमा छनौट गरेको हो ।

दुई महिला र चार खुला प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. १ बाट महिला तर्फ गण्डकी प्रदेशसभा सदस्य सावित्रा राना र गीता शर्मा चयन भएका छन् भने खुला तर्फ गण्डकी प्रदेशसभा सदस्य एवं जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रतिनिधिसभा सदस्य डाक्टर सूर्य प्रसाद पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेल र हिरा बहादुर खत्री सर्वसम्मत चयन भएका छन् । 

एक महिला र तीन अन्यको प्रतिनिधित्व हुने बागलुङ क्षेत्र नं. २ बाट महिलातर्फबाट यमुना राना, अन्यतर्फ पुराना नेता मोहनलाल शर्मा, पूर्व पार्टी उपाध्यक्ष सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन भएको नेकपा एमाले बागलुङका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए ।

सर्वसम्मत चयन भएका अर्याल नेकपा एकता पूर्व नेकपा माओवादी (केन्द्र) का केन्द्रीय सदस्य थिए । उनी  एमालेमै रहेका हुन् । एमाले बागलुङले जिल्लाभरबाट दुई जना दलित प्रतिनिधिका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर नेपाली सर्वसम्मत चयन भएका थिए । 

क्षेत्र नम्बर २ मा निर्वाचन प्रक्रिया सुरु भएको पहिलो दिन बिहीबार नै सर्वसम्मत प्रतिनिधि चयन भएका थिए ।  क्षेत्र नम्बर १ बाट दुई महिलाका लागि पाँच जना र चार खुलाका लागि १२ जनाले उमेदवारी दर्ता गराएका थिए । उमेदवारी दिएका आकांक्षीबीच छलफल गरेर सहमति मै महाधिवेशन प्रतिनिधि छनौट गरेको एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाको भनाइ छ । 

बागलुङमा पाँच हजार २६४ संगठित सदस्यमध्ये बागलुङ क्षेत्र नं १ मा तीन हजार ४०० र क्षेत्र नं. २ मा एक हजार ८६४ जना संगठित सदस्य रहेका जिल्ला सचिव विष्णु भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : ५५ बजे