साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महिला क्रिकेट टोली कतार प्रस्थान

काठमाडौँ । कतारसँग हुने तीन टी–२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । 

नेपाली टोलीले आज बिहान कतारको उडान भरेको हो । नोभेम्बर २२ देखि २८ सम्म हुने आइसिसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी–२० शृङ्खला खेल्नेछ । 

आइसिसी महिला टी–२० विश्वकप अन्तर्गत एसियाली छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । 

यसअघि, नेपालले बङ्गलादेश पुगेर स्थानीय क्लबसँग तीन मैत्रीपूर्ण शृङ्खला खेलेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ देश सहभागी छन् ।

नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग खेल्नेछ ।  ७ मङ्सिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मङ्सिरमा कुवेत, १० मङ्सिरमा मलेसिया र  १२ मङ्सिरमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । 

टी–२० श्रृखंलाका लागि नेपाली टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता राना मगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : ५१ बजे