आजकल सर्वोच्च अदालतको आँगनमा दिनदिनै प्रर्दशनहरु भइरहेका छन् । लाग्छ यो प्रदर्शनले ठुलो आँधीबेहरी सृजना गर्ने छ र न्यायालयभित्र देखिएको ठुलो कसिङ्गर र विकृतिहरूलाई एकै झोकमा बढारिदिनेछ । तर यो यर्थाथ हामीले सोचेभन्दा भिन्न छ । यसो भनिरहँदा धेरैलाई अप्रिय लाग्न सक्छ तर वास्तविकता यही नै हो ।
न्यायालयको शुद्धीकरणका नाममा भइरहेका यो आन्दोलन देख्दा जति सुन्दर र सुन्दा जति नै कर्णप्रिय लागे पनि यसको भित्रिपाटो त्यति नै भद्दा, स्वार्थ र कुरूपताले भरिएको स्पष्ट छ ।
यो आन्दोलन त न्यायालयको आँगनमा विवेकहीन स्वार्थीहरूको भद्दा मजाक बाहेक केही हैन । देख्दा यो आन्दोलन सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जंगबहादुर राणाको बर्हिगमनका लागि भइरहेको देखिए पनि यसको भित्री मंगसद् न्यायालयलाई कब्जामा लिएर निहित स्वार्थपूर्ति गर्ने जमातको उरन्ठेउलो र केटाउलेपन बाहेक अरू केही पनि हैन ।
हो हाम्रो न्यायालय भित्र कुरीति छ, विसङ्गति छ, बेथिति, ढिलासुस्ती र कथित भनिँदै आइरहेको ‘सेटिङ’ पनि छ । यो हामीले देख्दै भोग्दै आइरहेकै विषय हो । के यो आन्दोलन ती तमाम विकृति, विसङ्गति र फोहोर सफा गर्ने उद्देश्यले भएको हो ? उत्तर सपाट छ अहम् होइन, हुँदै होइन । यो आन्दोलन त अझ बढी ‘सेटिङ’ अझ बढी स्वार्थ र अझ बढी महत्त्वाकाङ्क्षा परिपूर्तिका लागि हो । अझ स्पष्ट भनौँ न्यायलाई अझै दूषित र भयङ्कर दुष्चक्रमा फसाउने चाल बाहेक यो आन्दोलनको कुनै अर्को उद्देश्य छैन ।
यो प्रदर्शन देख्दा जति राम्रो र सुन्दर देखिन्छ यसको भित्री मगसत त्यति नै कुरूप र भत्ता यस कारण पनि छ की यो आन्दोलन न विधिमा छ न कानुनका कुनै धारा, उपधारा र दफाहरूसँग नै मेल खाने छ । यो त फगत गुलियो र मिठो चिनी चखाएर मह छदाउने रणनीति मात्र हो ।
स्पष्ट होस् श्रीमान् चोलेन्द्र शमसेर जबरासँग यो लेखकको कुनै गोरु बेचेको साइनो पनि छैन । अबका दिनमा चोलेन्द्र श्रीमानसँग कुनै न्यायको अपेक्षा पनि यो पङ्क्तिकारसँग छैन । न्यायालयमा जसलाई छोयो उसलाई भष्म पार्न सक्ने भष्मासुर प्रवृत्तिका जबरासँग आज आफ्नै टाउकोमा छोएर भष्म हुने बाहेक अर्को विकल्प पनि छैन । यो उनकै अयोग्यता, विवेकहीनता र निर्लज्जताको उपज हो ।
श्रीमान् राणालाई यसो भनिरहँदा उनी विरुद्धकै आन्दोलन कसरी गलत त ? स्वाभाविक हो न्यायालयको आँगनमा भइरहेको यो गाई जात्रा विधि सङ्गत त छदै छैन तर्कसम्मत पनि छैन । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश छान्ने र हटाउने विधि हाम्रो संविधानले स्पष्ट गरेको छ । चाहे त्यो राम्रो होस् या नराम्रो होस् । त्यो पालना हामीले गर्नै पर्छ । आन्दोलनरत न्यायाधीशहरुलाई त्यसको जानकार नभएको होला र ? न्यायालय बेठिक भए, प्रधानन्यायाधीश वा न्यायाधीशहरू र बेठिक भए तह लगाउने सच्चाउने वा गलहत्त्याउने विधि हाम्रो संविधानले निदृष्ट गरेको छ । भनिरहनु नपर्ला त्यसलाई ठिक पार्ने एक मात्र विधि भनेको महाअभियोग नै हो ।
कसैलाई प्रभाव वा दबाबमा पारेर राजीनामा दिएर न्यायालय सफा गर्छु भन्नु कोरा कल्पना मात्र हो । यसले त झन् मन नपरेकाहरूलाई दबाबमा हटाउने र आफू अनुकूलको ‘बुख्याचा’ न्यायालयमा ल्याउने बाहेक अरू केही उपलब्धि होला र ?
अरूलाई कानुन र संविधानका दफाबाट न्याय दिन सक्षम छौँ भन्ने न्यायाधीशहरू आफै कानुन र संविधानभन्दा बाहिरको विकल्पबाट वर्तमान समस्याको समाधान खोज्छन् भने यिनले भोलि दिने न्याय र फैसलाको के अर्थ रहला । हुल, जमात र भिडबाट आफू न्याय खोज्न उद्त यो समूहले भोलि हाम्रो समाजलाई के न्याय देला ? जनताको झगडा मिलाउनु पर्ने र वहस प्रमाण ल्याएर वकालत गर्नु पर्ने न्यायधिशहरु र वकिलहरु आफै विधि र पद्यती भुलेर अदालतमा लाठी बोकेर बस्नु कदापी राम्रो हुन सक्दैन । कानुनअनुसार अरुलाई हिडाउनु पर्नेहरुले नै उल्टो पार्टीको झोला बोकेर आएर अदालतमा बन्द हड्ताल गर्दै अर्कोलाई कठालो समात्दै हिड्नु कदापी स्वभनिय हुँदैन ।
स्पष्ट होस् नेपाल बार एशोसियशन नामक संस्था वकिलहरूको हकहित र अधिकारको वकालत गर्ने संस्था हो । यसले वकिलहरूको फाइदा बाहेक अरू के बुझ्ला र ? यसको नेतृत्व फगत राजनीतिक स्वार्थ जोड घटाउबाट बनेको त स्पष्टै छ । आज बार एशोसियशनले सर्वोच्च अदालतमा हस्तक्षेप गरी आफू अनुकूल न्यायाधीश राख्ने हो भने तमाम संवैधानिक र कानुनी व्यवस्थाको के अर्थ ? अरूलाई न्याय दिनुपर्ने न्यायाधीशहरू आज आफूलाई आवश्यक पर्दा अदालतलाई बन्धक बनाउने र जनताले न्याय माग्न जाने अधिकारलाई कुण्ठित बनाउन स्वयम कसरी सकिरहेका छन् । स्वयम न्यायाधीशहरू सर्वोच्च अदालतभित्र बिचौलिया, सेटिङ र मोलमोलाइ भइरहेका छ भन्छन् भने तीनले हिजो गरेका फैसलाहरू कति विधि संवत् र न्यायसङ्गत रहेछन् त ? के एक जना चोलेन्द्रको बर्हिगमनले सिङ्गो न्यायपालिकाको गिरेको साख अब शुद्ध हुनसक्छ ? के सेटिङ, मोलमोलाइ र बिकाऊ न्यायालयका दोषी के चोलेन्द्र शमशेर जबरा मात्र हुन् त ? के अहिले आवाज उठेको न्यायालय भित्रको भागबन्डाका मतियार श्रीमान् राणा मात्र हुन् त ? श्रीमान् राणासँगै र राणाको बेञ्चबाट फैसला गर्नै अरू श्रीमानहरू के दूधले नुहाएका श्रीमान्हरू हुन् त ?
पर्दा पछाडिको खेल
भइरहेको आन्दोलन विशुद्ध न्यायपालिका क्षेत्रको मात्र देखिए पनि वर्तमान आन्दोलन चरम राजनीतिक स्वार्थीहरूको पर्दा पछाडिको खेल हो । हिजो उनीहरूको स्वार्थमा कहिले नजिक र कहिले टाढा भएकै आधारमा आज प्रधानन्यायाधीशलाई हटाउनु र अर्को बुख्याचा खडा गर्नुपर्ने उनीहरूको बाध्यता हो । अझ आगामी दिनको सर्वोच्चको नेतृत्व कसको हातमा जाँदैछ र त्यो अगावै आफ्ना मुद्दाहरूको टुङ्गो लगाउनु उनीहरूको मुल मगसद् पनि हो भनिरहनु नपर्ला । भइरहेको आन्दोलनको पेरीफेरीमा सर्वोच्च अदालतमा के कस्ता खालका मुद्दाहरूको सुनुवाइ र फैसला हुँदै थियो । ती मुद्दा र फैसलासँग के आजको आन्दोलनको झिनो साइनो पनि नहोला र ?
विधि र प्रक्रियाको कुरा गर्ने हो भने प्रधानन्यायाधीश बेठिक भए हटाउने एक मात्र उपाय महाअभियोग नै हो । महाअभियोग लगाउन सक्ने आँट र हुत्ती नभएकाहरूले के सफा राजनीति गर्न सक्लान् र ? आफूमाथि लागेका तमाम आरोपहरू अदालतमा विचाराधीन अवस्थामा तिनीहरूले महाअभियोगको ‘म’उच्चारण गर्नु पनि प्रत्युत्पादक हुने स्पष्ट छ र थियो । हिजो अदालतलाई धारे हात लगाउनेहरू नै के आज सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनका भित्री डिजाइनर होइनन् होला र ? उनीहरूले हिजो आफ्ना लागि खडा गरेका पात्रहरू नै आज सर्वोच्चको आँगनमा बुर्कुसी मारिरहेका छैनन् र ? वकिलका नाममा फगत कार्यकर्ताहरू उर्फादा तीनको जोडिएको नाभी बुझ्न के सकिन्न र ? चर्चित बालुवाटार जग्गा प्रकरणको फैसलाको केही दिन यतादेखि चलेको आन्दोलन र उक्त मुद्दामा जोडिएका आरोपीहरूको स्वार्थ के यो आन्दोलनमा अझैसम्म पनि नजोडिएको होला र ? अफताब आलम, सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दा, जनमुक्ति सेनाका लागि आएको तलब भत्ता र रासन पानीसँग जोडिएको शिविर घोटाला काण्ड के सर्वोच्च अदालत र राजनीतिक नेताहरूको टाउको दुखाइको विषय हैन र ?
हो सर्वोच्चमा अहिलेको पात्र दूषित छ भने आउन लागेको पात्र चाहिँ कसरी र कुन अर्थमा चोखो छ ? आज चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद्मा भाग खोजेका विषयले यो सबै आन्दोलन भएको हो भने परमादेशबाट खडा गरिएको वर्तमान सरकार कुन मानेमा चोखो छ ? परमादेश जारी गर्ने अरू न्यायाधीशहरू कुन अर्थमा चोखा भए ? जारी गरिएको परमादेश कत्तिको संवैधानिक भयो ? के न्यायालयको आँगनमा उटपट्याङ गरेर जनताको न्यायप्रतिको अपेक्षा, आकाङ्क्षा र अधिकारलाई धूलिसाथ गर्नेहरूका चोर औला तमाम न्यायालय भित्रका चोरहरूप्रति लक्षित छ त ? फगत स्वार्थका लागि एक जना हटाउनु र ल्याउनुले न्यायालय शुद्ध हुन सक्दैन । न्यायालय शुद्ध गर्ने विधि र प्रक्रिया संविधान भित्रैबाट खोजिनुपर्छ ।
आन्दोलनकै बाटोबाट सफा गर्न खोजिएको यदि हो भने परमादेशले कार्यपालिका खडा गरी कार्यपालिकामा भागबन्डा माग्ने श्रीमान् चोलेन्द्रसँगसँगै परमादेश जारी गर्नै अन्य न्यायाधिशहरु पनि न्यायालयभित्र बस्न नमिल्ने पात्रहरू हुन यिनीहरूको पनि सामूहिक राजीनामा आन्दोलनको माग बन्नुपर्दैन र ?
प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार १० : ३७ बजे
प्रतिक्रिया