‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आज विश्व मधुमेह दिवस : विलासी जीवनशैलीले बढ्दै मधुमेहका बिरामी 

काठमाडौँ । आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । इन्टरनेसनल डायबिटिज फेडेरेसन र विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रूपमा मनाउन थालिएको हो । 

सन् २००६ मा यो दिवसले आधिकारिक रूपमा संयुक्त राष्ट्र सङ्घ अन्तर्गत स्थान पाएको थियो । आज मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिन पनि हो । फ्रेड्रिक ग्रान्टले चार्ल्स बेस्टसँग मिलेर सय वर्ष पहिले इन्सुलिनको खोज गर्नुभएको थियो । उहाँको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइन्छ ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रूपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिन्छ । यो अवस्थालाई नै मधुमेह भनिन्छ । 

आफूलाई मधुमेह भएको छ वा छैन भनेर परीक्षण पूर्व नै जानकारी हुन सक्छ । मधुमेह भएमा मुख सुख्खा हुने, पटक पटक पिसाब आउने, बढी तिर्खा लाग्ने, भोक धेरै लाग्ने, हात गोडा झम्झमाउने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखा पर्ने बित्तिकै परीक्षण गरेर चिकित्सकको सल्लाह लिनुपर्छ ।

मधुमेहलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले शरीरका अन्य अङ्ग जस्तै: आँखा, मुटु, मिर्गौला, तथा स्नायुमा पनि असर पुर्‍याउन सक्छ । 

शरीरको तौल बढ्दै गएमा मधुमेहको जोखिम पनि उत्तिकै बढ्दै जाने सम्भावना रहन्छ । तर, खानपानले पनि मधुमेहको निर्धारण गर्छ । यो सरुवा रोग होइन तर यसलाई जेनेटिक रोगको रूपमा लिइन्छ । परिवारका कुनै सदस्यलाई मधुमेह छ भने उसको सन्तानमा पनि यो रोग देखिने सम्भावना उत्तिकै रहन्छ । 

मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरूलाई मधुमेहको समस्या देखा पर्न सक्छ । अहिले विश्वभर ४५ करोडभन्दा बढी मानिस मधुमेहबाट पीडित रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । विलासी जीवनशैली र अस्वस्थकर खाना नै मधुमेहको मुल कारण हो । 

मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । साथै दैनिक रूपमा व्यायाम गर्नु र तनावमुक्त हुनु पनि यसबाट बच्ने उत्तम उपाय हो । 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : २९ बजे