एमालेको महाधिवेशन प्रतिनिधि छनौट कसरी हुन्छ ? (पूर्ण पाठसहित)

काठमाडौँ । नेकपा (एमाले) आज एकै दिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । 

वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले आगामी मङ्सिर १० देखि १२ गते सम्म चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो ।

एमालेले महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौटको प्रावधानलाई स्पष्ट पारेको छ । 

कात्तिक १२ गते बसेको केन्द्रीय कमिटीको बैठकका निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) १३ जारी गर्दै महाधिवेशनमा तीन प्रकारका प्रतिनिधि हुने पनि स्पष्ट पार्नुभएको थियो । अपानीमा जनाइए अनुसार पदेन, भौगोलिक र मनोनीत गरी तीन प्रकारका प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधिहरूमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू रहनेछन् ।

एमाले अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्व सन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह समेत गरिसक्नुभएको छ ।

प्रतिनिधिको निर्वाचन :
-केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहेकोले आयोजक हुने हुँदा सल्लाहकार परिषद्का अन्य पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि । सल्लाहकार परिषद्का अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरूलाई मताधिकार नहुने।

-प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तीमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।
-प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य हुनेछ ।
-देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० सदस्यसम्म मा थप १ जना तर हरेक दोस्रो ८०० मा महिला अनिवार्य हुनेछ ।
-देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो सङ्ख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सोपछि प्रत्येक ५०० मा महिलाको एक तिहाइ हुने गरी १/१ जनाको दरले प्रतिनिधि छनौट गर्ने ।
-भूगोलका प्रदेश अन्तर्गतका मजदुर पार्टी सदस्य मध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरलेनिर्वाचित हुने प्रतिनिधि ।
-भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने ३० जना प्रतिनिधि ।
-पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा २ महिला सहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने।
-स्वदेशका देहाय बमोजिमका २२ जनसङ्गठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि :

  • -नेपाल ट्रेड युनियन महासङ्घ
  • -अखिल नेपाल किसान महासङ्घ
  • -अखिल नेपाल महिला सङ्घ
  • -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
  • -राष्ट्रिय युवा सङ्घ, नेपाल
  • – राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, नेपाल
  • -लोकतान्त्रिक मधेसी सङ्गठन
  • -नेपाल खेलकुद महासङ्घ
  • -आदिवासी–जनजाति महासङ्घ, नेपाल
  • -पेशागत महासङ्घ, नेपाल
  • -नेपाल उत्पीडित जातीय मुक्ति समाज
  • -नेपाल मुस्लिम ईत्तेहाद सङ्गठन
  • -प्रेस चौतारी, नेपाल
  • – नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन
  • -लोकतान्त्रिक अपाङ्ग सङ्गठन
  • – नेपाल बुद्धिजीवी परिषद्
  • – प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठन
  • – नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन
  • -नेपाल उद्योग व्यवसायी महासङ्घ
  • – प्रगतिशील इन्जिनियर्स एशोसिएसन, नेपाल
  • -मानव अधिकार एलाइन्स
  • -राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : २७ बजे