बाढीको स्थितिमा सुधार

एमाले महाधिवेशन प्रतिनिधि छनोट: लुम्बिनी प्रदेशका जिल्लामा सर्वसम्मतकै प्रयास 

बुटवल । नेकपा (एमाले) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका जिल्लामा आज प्रतिनिधि छनोट गरिँदै छ । 

लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छान्न नेताहरूले शुक्रवारदेखि नै सर्वसम्मतको प्रयास गर्नुभएको छ  ।

शुक्रवार बिहानदेखि भएको सर्वसम्मतिको प्रयास अधिकांश निर्वाचन निर्वाचन क्षेत्रमा सफल हुन सकेको छैन । अहिलेसम्म रोल्पा र पाल्पा–१ मा मात्र सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । 

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लीला गिरी अन्य जिल्लाका निर्वाचन क्षेत्रमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र आज साँझसम्म टुङ्ग्याउने गरी प्रयास गरिरहेको बताउनुभयो ।

लुम्बिनीका रुपन्देही, दाङ, बाँके लगायतका जिल्लाबाट सबैभन्दा धेरै प्रतिनिधि चयन हुँदै छन् । यी जिल्लामा आकाङ्क्षी धेरै हुँदा मिलाउन सकस देखिएको छ ।ु“समय लगाएर भए पनि सर्वसम्मत प्रतिनिधि चयनको प्रयास गर्छौँ”, अध्यक्ष गिरीले भन्नुभयो ।

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र ईश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्त कुमार वली चयन हुनुभएका एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले बताउनुभयो ।

त्यस्तै, १५ जना प्रतिनिधि सहभागी हुने पाल्पा क्षेत्र नं. –१ मा ६ जना प्रतिनिधि सर्वसम्मत भएका छन् । जसमा दुई महिला र चार जना पुरुष छन् । क्षेत्र नं. २ मा पनि सहमतिको प्रयास जारी राखिएको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो। 

त्यसैगरी, १८ जना प्रतिनिधि चयन हुने गुल्मीमा पनि सर्वसम्मत रूपमा प्रतिनिधि छनोटको प्रयास जारी छ । यसका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । 

४३ जना आकाङ्क्षीले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रूपमा प्रतिनिधि छनोटको अधिकार दिएकाले आज साँझसम्म टुङ्गो लगाइने अध्यक्ष पन्तले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट छानिँदै छन् । ३३ जना प्रतिनिधि छानिने रुपन्देहीमा आकाङ्क्षी भने धेरै हुँदा नेतृत्वलाई व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लामा  १ सय जनाभन्दा धेरै आकाङ्क्षीले महाधिवेशन प्रतिनिधि छान्न लबिङ गरिरहेका छन् । 

त्यस्तै, कपिलवस्तुमा दलित कोटाबाट दुई जना सर्वसम्मत चयन भएका छन् । अन्यको टुङ्गो लागेको छैन । १९ जना प्रतिनिधि चयन हुने कपिलवस्तुमा पनि आकाङ्क्षी धेरै हुँदा समय लागेको र सहमतिमै प्रतिनिधि चयन गर्ने प्रयास भइरहेको नेता भेषराज पाण्डेले बताउनुभयो ।

एमाले अर्घाखाँचीका नेता शोभाखर पाण्डेले प्रतिनिधि छान्ने काम आज सकिने बताउनुभयो । सहमतिको प्रयास अन्तिम चरणमा पुगेको र जिल्लाबाट छानिने १६ जना प्रतिनिधिलाई सर्वसम्मत बनाइने उहाँले जानकारी दिनुभयो । 

बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छनोटको प्रयास भइरहेको एमाले लुम्बिनी प्रदेश अध्यक्ष गिरीले बताउनुभयो । 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : १३ बजे