एमालेले १०औँ महाधिवेशनका लागि आज एकै दिन देशभरबाट प्रतिनिधि चयन गर्दै 

काठमाडौँ । नेकपा(एमाले)आज एकै दिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । 

वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरिसकेको एमालेले आगामी मङ्सिर १० देखि १२ गते सम्म चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । 

यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्व सन्ध्यामा भिडियो सन्देश जारी गर्दै उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गरिसक्नुभएको छ ।

एमालेले एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

एमाले प्रचार विभागका अनुसार सङ्गठित सदस्यको सङ्ख्या आठ लाख नाघिसकेको छ । एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछन् । 

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : २८ बजे